चितवन, फागुन २७ । चितवनमा थकाली समुदायले बुधबारदेखि तोरन्ल (फागु पूर्णिमा) पर्व मनाउने भएका छन् । थकाली सेवा समिति चितवनले भरतपुरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी तोरन्ल पर्व हर्षोल्लासका साथ मनाउन लागेका हुन् ।
यस पर्वको दिन बिहान सबेरै उठेर पुजापाठ गर्ने चलन रहेको थकाली सेवा समिति चितवनका सल्लाहाकार ओमप्रकाश गौचन बताउँछन् । ‘घरको कन्या वा महिला बिहानै तीन बजे उठेर पितृलाई पुकार गरेर (सम्झेर) पुजाआजा गर्दछन् ।,’ उनले भने ‘ छोरी ज्वाई भान्जि तथा आफन्तहरूलाई बोलाएर मीठा मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ ।’ थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङ –लोकल रक्सी) समेत खाने प्रचलन रहेको उनले बताए । थकाली समुदायले फागु पुर्णिमा रंगहरु लगाउँदैनथे । आजभोलि भने अन्य समुदायको प्रभावका कारण लगाउन थालिएको उनले बताए ।
मुस्ताङको थासाङ गाउपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । तर, मुस्ताङबाट थकाली समुदायहरु बसाइसाराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएको उनले बताए । उनका अनुसार, थकालीहरु व्यापार तथा उद्योग सञ्चालनका लागि चितवन झरेका हुन् । २०३० साल तिर चितवनमा ८ घरपरिवार झरेका थिए । अहिले उनीहरु बढेर ३९ घर पुगेका छन् । यहाँबाट पनि अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशमा बसाइसराई गर्नेको संख्या बढ्दो रहेको उनले बताए । चितवनमा रहेका थकाली समुदायहरु होटल, उद्योग, किराना पसल तथा ठेक्कापट्टामा सक्रिय रहेका छन् ।
तोरन्ल पर्वको अवसरमा चितवनमा हरेक तीन वर्षको अन्तरमा थकाली धनुस (तिर) गोल्ड कप समेत हुने गर्दछ ।