काठमाण्डौ, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्। सभापति देउवाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न पदाधिकारी बैठक डाकेका हुन ।
आज अपरान्ह ३ बजेका लागि कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ। पार्टी सभापति देउवाको निवासमा पदाधिकारी बैठक बस्ने भएको हो।बुधबार नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर मिलेर जाने प्रस्ताव गरेका थिए।
देउवाले पार्टीमा छलफल गरेपछि मात्रै आफूले निर्णय दिन सक्ने जवाफ दिएका थिए। आफ्नो पार्टीमा आन्तरिक छलफलपछि फेरि छलफलमा जुट्ने गरी बुधबार बैठक सकिएको थियो।