२८ चैत, नेपिताउ (बर्मा) । दुई साता अघि म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३ हजार ५९१ पुगेको छ ।
म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारी वाई ल्वीनले दिएको जानकारी, बुधबार रातिसम्म भूकम्पमा परेर ४ हजार ८१४ जनाको मृत्यु भएको छ भने १४८ जना सम्पर्कविहीन छन् । ४९ हजार ८५७ घरमा क्षति पुगेको छ भने ५ लाख २४ हजार ६२४ जना प्रभावित भएका छन् ।
मृत्यु हुनेमध्ये १८ जना बर्माका नेपालीभाषी नागरिक रहेको म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले अनलाइनखबरलाई बताए । ‘म्यानमारमा करिब २ लाख नेपालीभाषी छन्, उनीहरू झण्डै १५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएको इतिहास छ’, उनले भने, ‘उहाँहरूमध्ये १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अरू केही घाइते र बेपत्ता हुनुहुन्छ ।’
उनका अनुसार, भूकम्पपछि २५० जना नेपालीभाषी नागरिक विस्थापित भएका छन् । उनीहरूका लागि त्यहाँका नेपालीभाषीको संगठन ‘अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ’ले अस्थायी बसोबासको व्यवस्था गरेको छ ।
‘भूकम्पबाट घरविहीन हुनुभएकाहरूलाई यो संस्थाले नियमित खाना खुवाएर आश्रय दिइरहेको छ, भूकम्पबाट अति प्रभावित माण्डले क्षेत्रमा यो सहयोग भइरहेको हो’, घिमिरेले सुनाए, ‘उहाँहरूसँग नेपाली दूतावासको तर्फबाट पनि कुराकानी गरेका थियौं, दूतावासको उपस्थितिले पनि दुःखमा मल्हमपट्टी हुन्छ भन्ने हिसाबले त्यहाँ जाने तयारी गरेका छौं ।’
नेपाली दूतावासको तर्फबाट राहत सामग्री लिएर त्यहाँ जान लागेको उनले बताएका छन् । म्यानमारस्थित नेपाली दूतावासका अनुसार, त्यहाँ ५० जना नेपाली नागरिक बसोबास गर्छन् ।
‘तर, उहाँहरू यांगौनमा बसोबास गर्दै आउनुभएकाले त्यति धेरै क्षति भएन, हाम्रो दूतावास पनि त्यहीँ छ’, राजदूत घिमिरेले थपे, ‘नेपाली नागरिकहरूमध्ये कतिपय यूएन एजेन्सी, कतिपय बैंकिङ क्षेत्र त कतिपय व्यवसाय गरेर बसिरहनु भएको छ ।’
उल्लेखनीय क्षति नभए पनि यांगौनमा निकै लामो समयसम्म भूकम्पको झट्का महसुस भएको घिमिरले बताए । ‘हामी दूतावासमै थियौं, दिउँसो भएकाले धेरै मानिसहरू घरबाहिरै थिए’, उनले भने, ‘त्यसक्रममा झण्डै एक मिनेट जत्ति नै जोडले हल्लाएको महसुस गरेको थिएँ ।’
लामो समयसम्म हल्लाउँदा क्षति धेरै भएको उनले सुनाए । ‘दिउँसो १२ः५५ बजेको समय थियो, धेरै मानिसहरू दिउँसो बाहिरै थिए’, घिमिरेले भने, ‘तर, रमदान लगायत धार्मिक विषयहरू जोडिएकाले कतिपयको सामूहिक प्रार्थना गरेको ठाउँमा मृत्यु भएको विवरण छ ।’
त्यहाँको परराष्ट्र मन्त्रालयका ल्वीनले दिएको विवरणअनुसार, भूकम्पमा परेर ३ हजार ८२ बौद्ध भवनहरूमा क्षति पुगेको छ भने १०७ मस्जिद र अरू धर्मका २८७ भवनहरू क्षतिग्रस्त भएको छ ।
म्यानमारका अधिकारीहरूका अनुसार, यो भूकम्पको केन्द्रविन्दु म्यानमारको सागाइङ शाहरको उत्तरपश्चिमतर्फ १६ किलोमिटर दुरीमा थियो । म्यानमारको माण्डलेबाट नजिकै पर्ने यो स्थानमा १५ लाख मानिसहरूको बसोबास थियो ।
यो केन्द्रविन्दु राजधानी नेपिताउबाट करिब २०० किलोमिटरको दुरीमा पर्छ । त्यहाँका अधिकारीहरुका अनुसार, भूकम्प गएको १४ दिनसम्ममा १०४ वटा पराकम्पहरू गइसकेका छन् ।