Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

संस्कृति संरक्षणमा तनहुँका कुमाल समुदाय

संस्कृति संरक्षणमा तनहुँका कुमाल समुदाय

रासस

५, बैशाख २०८२
संस्कृति संरक्षणमा तनहुँका कुमाल समुदाय

दमौली (तनहुँ) । जिल्लाका कुमाल समुदाय संस्कृति संरक्षणमा जुटेका छन् । कुमाल समुदायको मौलिक संस्कृति पाउदुरे नाच संरक्षणका लागि कुमाल समुदाय कस्सिएका हुन् ।

images

जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार ७२७ रहेको कुमाल समाज नेपालका अध्यक्ष आलोक कुमालले जानकारी दिए । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको कुमालले बताए ।

संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न लागिएको उनको भनाइ छ । व्यास नगरपालिका–९ कलेस्तीस्थित कुमाल गाउँमा आगामी वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरणको तयारी गरिएको छ । कुमालले भने, “मौलिक संस्कृति जोगाउनुपर्छ भनेर अहिलेका पुस्तालाई यसका बारेमा जानकारी दिने मुख्य उद्देश्य हो ।”

कुमाल समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नचाउने गरिन्छ । कुमालका अनुसार यो नाचको आफ्नै छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव छैन । उनले भने, “यो नाचका विभिन्न चरण हुने गर्दछ । यो गीतको मिठास महसुस गर्नका लागि गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ ।”

रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । गीतको शैली फरक–फरक भएता पनि भाव एउटै हुन्छ ।

घिरिङ गाउँपालिकामा दसैँतिहारका अवसरमा अहिले पनि यो नाच नचाउने गरिन्छ भने व्यासको कलेस्तीको कुमाल गाउँमा भने विस्तारै यो लोप हुने अवस्थामा पुगेको छ । कुमाल समुदायको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा आफ्नो परिवार पाल्नका लागि विभिन्न कालखण्डमा खेतीपातीलगायत जागिर, वैदेशिक रोजगारी आदिको सिलसिलामा जीविकोपार्जन गरिरहेको समुदायले खासगरी आफ्नो मौलिक संस्कृतिमा खासै ध्यान दिएको पाइँदैन ।

कुमाल समुदायको मौलिक संस्कृतिलाई उजागर गर्न र युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न कार्यक्रमको तयारी गरिएको कुमालको भनाइ छ । उनले भने, “संस्कृति संरक्षणका लागि यो कदमले तनहुँमा बसोबास गर्ने कुमाल समुदायको आफ्नो मौलिक संस्कृति पक्कै पनि संरक्षण हुने विश्वास लिइएको छ ।”

कुमाल समुदायको मौलिक संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणका लागि सामाजिक विकास कार्यालयले सहयोग गरेको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिए । उनले भने, “कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्न समुदायको बीचमा कार्यक्रम गर्दा उपयुक्त हुने भएकाले कुमाल गाउँमा नै कार्यक्रम तय गरिएको छ ।”

images
प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - ०९:०२:४४ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology