आँबुखैरेनी, २२, जेठ । "जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं" भन्ने नारासहित १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस तथा दलित जेष्ठ नागरिक सम्मान कार्यक्रम आँबुखैरेनीमा भव्य रूपमा सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा तथा दलित वर्ग उत्थान गाउँ समन्वय समितिको सहआयोजनामा सम्पन्न कार्यक्रममा ८० वर्षभन्दा माथिका १८ जना दलित जेष्ठ नागरिकलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो। कार्यक्रमको सभापतित्व गाउँपालिका कार्यपालिका सदस्य गंगा विकले गर्नुभयो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शुक्र चुमान रहनुभएको थियो।
कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, इलाका प्रहरी कार्यालयका प्रमुख टेकप्रसाद सुबेदी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, समाजसेवी र बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले दलित समुदायले भोग्दै आएका सामाजिक विभेद, मानसिक तथा आर्थिक असरबारे धारणा राखेका थिए। प्रमुख अतिथि चुमानले दलित समुदायलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अगाडि बढाइरहेको जानकारी दिनुभयो। प्रहरी प्रमुख सुबेदीले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानुनी प्रावधान र सजायका विषयमा जानकारी गराउनुभयो।
सो अवसरमा गाउँपालिकामा निर्वाचित ८ जना दलित जनप्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमले जातीय समानता, सामाजिक समावेशिता र समान अवसरको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।