इच्छाकामना । इच्छाकामना गाउँपालिका–१, स्थित धादिङ सिमानादेखि हात्तिबाङ बजारसम्मको सडक खण्डमा करिब चार करोड रुपैयाँको लागतमा ढलान सडक निर्माण कार्य सम्पन्न भएको छ।
यो सडक निर्माण इच्छाकामना गाउँपालिकाको पूर्ण समन्वय र संघीय सरकारको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो। बर्खायाममा हिलो र हिउँदमा धुलोका कारण सास्ती भोग्दै आएका स्थानीय बासिन्दा तथा पर्यटकहरू अब यस सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन्।
सडक निर्माणपछि स्थानीय यातायात, जनजीवन तथा पर्यटनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार अबको अर्को चरणमा सो सडकलाई पक्की ढलानमा रूपान्तरण गर्ने कार्य अगाडि बढाइएको छ।
अध्यक्ष गुरुङले जानकारी गराएअनुसार, सडक सञ्जाललाई विस्तार गर्दै रोरा गाउँपालिकाको सिमानासम्म जोड्नका लागि छिट्टै निर्माण कार्य थालिनेछ र सोको लागि दुबै गाउँपालिकाबीच समन्वय भइरहेको छ।