Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

महाशिवरात्रीको बेला पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्मै खुला रहने

महाशिवरात्रीको बेला पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्मै खुला रहने

रासस

१६, फाल्गुण २०७७
महाशिवरात्रीको बेला पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्मै खुला रहने
images

काठमाडौँ, १६ फागुन । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।

images
images

पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकामात्र खुला गरी दुई वटा लाइनबाट भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गराउने व्यवस्था मिलाइएको छ । महाशिवरात्रिदेखि पशुपतिका चारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ ।

गत वर्ष चैत ११ गते अघिसम्म मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गरिन्थ्यो । दिउँसो पशुपतिनाथलाई भोग लगाएपछि भने बेलुकी ५ बजेसम्म मूल मन्दिर बन्द गर्ने परम्परा छ । महाशिवरात्रिदेखि यही परम्परा अनुसार गर्ने गरी तयारी शुरु भएको कोषले जनाएको छ ।

कोरोना महामारी जारी नै रहे पनि यस वर्ष पशुपतिनाथ मन्दिरमा आउनेजति भक्तजनलाई दर्शन गराउने गरी पशुपति क्षेत्र विकास कोषले तयारी शुरु गरेको छ । तयारीका लागि आज कोषका महाशाखा एवम् शाखा प्रमुखबीच छलफल गरिएको निर्देशक भोलाप्रसाद सिटौलाले राससलाई जानकारी दिनुभयो । गत बुधबार पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनिको पीठिकामा सुनको जलहरी राखिएकाले पनि यस वर्ष महाशिवरात्रिमा धेरै भक्तजन आउने अनुमान कोषले गरेको छ ।

महाशिवरात्रिको तयारीका लागि सुरक्षा निकायसँग कोषले छलफल गरिरहेको जनाएको छ । यस वर्ष कोरोनाको जोखिम कायमै रहेकाले महाशिवरात्रिमा पशुपति क्षेत्र आउने भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । भौतिक दूरी कायम गराउन असहज हुने देखिएपनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले भक्तजनसँग आह्वान गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । महाशिवरात्रिका दिन भक्तजनलाई विगत वर्षहरूमा जस्तै चार स्थानबाट लाइन लगाएर सहज रुपमा दर्शनको व्यवस्था गराइने छ । मूल मन्दिरभित्र भने भौतिक दूरी कायम गराइने उहाँले बताउनुभयो ।

विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर स्थापनाको तयारी भएको छ । गुठी संस्थानसँगको सहकार्यमा महाशिवरात्रिमा पुशपति आउने साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउनेलगायत व्यवस्थापन पनि गरिँदैछ । दर्शनार्थीलाई सहज रुपमा चन्दन बाँड्ने व्यवस्था गरिनेछ ।

महाशिवरात्रिदेखि रसिद काटेर गरिने विशेष पूजा पनि शुरु गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । कोरोना महामारीका कारण विशेष पूजा गत वर्ष चैतदेखि नै बन्द भएको थियो । कोषको नेतृत्वमा तामझाम नगरी आएका भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २१:३०:०६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology