गोरखा, १५ असार । गण्डकी गाउँपालिकाले गाउँसभा बैठकहरूमा पटक–पटक अनुपस्थित हुने जनप्रतिनिधिहरुलाई लिखित स्पष्टीकरण माग गरेको छ।
उपाध्यक्ष ललिता अधिकारीसहित वडा न ३ का वडा अध्यक्ष सुबास पन्त र ४ का राजुबाबु भण्डारीसंग लिखित जवाफ माग गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना साकारले जानकारी दिए । लगातार गाउँ सभामा अनुपस्थितिलाई गम्भीर विषयको रूपमा लिँदै गाउँपालिका कार्यपालिकाले ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
गाउँपालिकाद्वारा जारी स्पस्टिकरण पत्रमा भनिएको छ, जनप्रतिनिधि नै अनुपस्थित हुँदा जनताको आवाज नीति निर्माणमा पुग्न नसकेको र जनप्रतिनिधि तथा पालिकाको गरिमा समेत प्रभावित भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ को उपदफा ४ बमोजिम गाउँसभा सदस्य लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा उनको पद रिक्त हुने व्यवस्था रहेको स्मरण गराउँदै आवश्यक प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट गरिएको छ।
यस विषयमा गण्डकी गाउँपालिकाको १२९ औँ कार्यपालिका बैठकको दोस्रो सिलसिलावार बैठकले निर्णय गरि लिखित रूपमा चेतावनी दिँदै आगामी असार १७ गतेभित्र गाउँपालिकामा भौतिक रूपमा उपस्थित भई स्पष्टीकरण पेश गर्न भनेको हो।
स्पष्टीकरण नआएमा कानुनी प्रक्रिया अघि बढाइने गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले हस्ताक्षर गरेको पत्रमार्फत जानकारी गराइएको छ।
