काठमाडौं, २५ असार । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका कर्मचारीहरूले आफ्ना समस्या र मागहरू सहितको ज्ञापनपत्र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय कृष्ण प्रसाद सिलवाललाई बुझाएका छन्।
गत जेष्ठ ७ गते बुझाइएको उक्त ज्ञापनपत्र मन्त्री सिलवालले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइदिनुभएको छ। प्रधानमन्त्री ओलीले सो ज्ञापनपत्र प्राप्त गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीसँग सम्बन्धित समस्याहरूलाई यथाशीघ्र सम्बोधन गरिने आश्वासन दिनुभएको छ।
ज्ञापनपत्रमा कर्मचारीहरूले सेवा सुविधा, प्राविधिक समस्याको समाधान, व्यवस्थापनमा पारदर्शिता, तथा दीर्घकालीन दिगो विकास सुनिश्चित गर्न आवश्यक सुधारका मागहरू राखेका छन्।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मुलुककै एक महत्वपूर्ण राष्ट्रिय परियोजना हो। कर्मचारीहरूको पहलले उक्त आयोजनामा देखिएका समस्या समाधानतर्फ सरकारको ध्यान खिचेको छ।