रुपन्देही, २६ असोज
नेपालमा थप दुई जना कोरोना संक्रमितको ज्यान गएको छ। रुपन्देही र सुनसरीमा एक एक जना गरि थप दुई जनाको आज ज्यान गएको हो।
बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो। यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा ज्यान गएको सूचना अधिकारी गौतमले बताउनुभयो।
त्यसैगरि नोवेल मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा सुनसरीको बराह क्षेत्रका ३७ वर्षीय पुरुषको पनि बिहान ज्यान गएको अस्पतालले जनाएको छ।
उनको शनिबार पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको र उपचारका क्रममा ज्यान गएको कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो।