Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

रासस

२९, आषाढ २०८२
बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज
images

खोटाङ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गर्नुभएको हो । 

images
images

बाह्र वर्षअघिदेखि जिल्लामै अग्र्यानिक तरकारी तथा फलफूलखेती गर्दै आउनुभएका धर्मराजले उत्पादन गर्नुभएको आलु प्रतिकिलो रु ४५ मा बिक्री भइरहेको छ । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका उहाँले तीन युवालाई रोजगारीसमेत दिनुभएको छ । 

घरेलु तथा साना उद्योग कार्यालयमा ‘झिसेपु अग्र्यानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लाग्नुभएका धर्मराजले उत्पादन गर्नुभएको आलुमध्ये एक हजार किलो बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी गर्नुभएको छ । उत्पादित आलुमध्ये करिब दुई हजार ८०० किलो शनिबार दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलमा लगेर बिक्री गरेको धर्मराजले जानकारी दिनुभयो ।

व्यक्तिगत लगानीमा व्यावसायिक आलुखेती तथा उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लाग्नुभएका धर्मराजले पाँच राँगा÷भैँसीपालन गर्नुभएको छ । अग्र्यानिक आलु उत्पादन गर्ने अभियानमा लाग्नुभएका उहाँले त्यही राँगाभैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलुखेतीमा हाल्दै आउनुभएको छ ।

करिब ३०–४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती सुरु गर्नुभएका धर्मराजले गत माघमा ६०० किलो भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर रोप्नुभएको थियो । कुनाखर्कमा उत्पादित अग्र्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यावसायिक आलुखेती सुरु गरेको उहाँले बताउनुभयो । 

करिब रु ११ लाख लगानीमा सुरु गर्नुभएको आलुखेतीलाई आगामी वर्षदेखि थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताउनुभयो । “पहिलोपटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु”, उहाँले भन्नुभयो, “आलुसँगै पशुपालन तथा तरकारीखेती गर्ने योजना छ । यसका लागि थप जनशक्ति खोजी गरिरहेको छु ।”

अग्र्यानिक कृषि उपज उत्पादन अभियानमा लाग्नुभएका धर्मराजले सुरुमा वडा नं ३ बाम्राङस्थित झिसेपुमा व्यावसायिक रूपमा अग्र्यानिक फलफूल तथा तरकारीखेती गर्नुभएको थियो । करिब १५ वर्षदेखि कृषि पेसामा आबद्ध उहाँले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

कृषि पेसालाई आधुनिक तथा यान्त्रीकीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लाग्नुभएका धर्मराजले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आउनुभएको छ । झिसेपुको फार्म सञ्चालनका लागि उहाँलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । पछिल्लो समय जिल्लाका अधिकांश किसानले थोरै समयमा नै पर्याप्त आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानीकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् । रासस

images
प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - ०९:०१:५८ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology