Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बागमतीमा सत्तापलट : इन्द्र बानियाँ छैटौं मुख्यमन्त्री, आजै शपथ र मन्त्रिपरिषद् विस्तारको तयारी

बागमतीमा सत्तापलट : इन्द्र बानियाँ छैटौं मुख्यमन्त्री, आजै शपथ र मन्त्रिपरिषद् विस्तारको तयारी

images

इच्छाकामना न्युज

२०, श्रावण २०८२
बागमतीमा सत्तापलट : इन्द्र बानियाँ छैटौं मुख्यमन्त्री, आजै शपथ र मन्त्रिपरिषद् विस्तारको तयारी
images

काठमाडौं । बागमती प्रदेशले आज आफ्नो छैटौं मुख्यमन्त्री पाउँदैछ । प्रदेशको सत्ता राजनीतिमा भएको फेरबदलपछि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्तर्गत बानियाँले सोमबार नै ६४ जना सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेश गरिसकेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो २ बजेपछि बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्ने र अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार दिउँसो २ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सोही समयसीमाभित्र बानियाँले ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थन जुटाएर दाबी पेश गरेका हुन्, जुन सरकार गठनका लागि आवश्यक ५६ मतभन्दा बढी हो । यो सत्ता परिवर्तनको पृष्ठभूमि कांग्रेसभित्रकै आन्तरिक समीकरणमा भएको फेरबदल हो ।

९ साउन २०८१ मा गठन भएको कांग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व गरिरहेका लामाले आफ्नै दलभित्रको अविश्वासको सामना गर्नुपरेको थियो । १३ साउनमा दलभित्र भएको मतविभाजनमा अल्पमतमा परेपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए । त्यसको भोलिपल्टै, १४ साउनमा भएको निर्वाचनमा बानियाँले लामालाई पराजित गर्दै दलको नेता चयन भएका थिए, जसले उनलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिएको हो ।

८ महिनाको कार्यकाल एक वर्षअघि सरकार गठन हुँदा कांग्रेस र एमालेबीच २०-२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार, अब बानियाँले करिब ८ महिना सरकारको नेतृत्व गर्नेछन् र आगामी फागुनमा एमालेलाई सत्ता हस्तान्तरण गर्नेछन् ।

मुख्यमन्त्री बानियाँले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शपथ ग्रहण लगत्तै उनले कांग्रेस र सत्ता साझेदार एमालेबाट केही मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - ०७:५१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology