गोरखा (फुजेल), २६ असोज । गोरखाको गण्डकी गाउँपालिकाको एउटा वडाले अचम्मको निर्णय गरेको छ। उक्त गाउँपालिकाको वडा नम्बर ४ ले दशैं नजिकिँदै गर्दा गाउँ फर्किन चाहनेलाई अचम्मको उर्दी जारी गरेको हो।
उक्त वडाका सचिव कमल खनालद्वारा जारी सूचनामा दशैंमा आफ्नो घर आउने भए असोजको ३० गते भित्र आइसक्न भनिएको छ।
विदेशबाट फर्किनेलाई पीसीआर रिपोर्टसहित सात दिन आइसोलेसनमा बस्नुपर्ने र जिल्ला बाहिरबाट आउनेलाई ७ दिन क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको हो ।
आइतवार बसेको भनिएको सर्वदलीय बैठकले यस्तो निर्णय गरिएको बताइएको भएपनि यसको चर्को बिरोध भएको छ । अझ अचम्मको कुरा त केछ भने वडाले जारी गरेको सूचनामा सरोकरनै नभएका मानिसको सम्पर्क नम्बर राखिएको छ।
गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर यो गलत निर्णय भएको भन्दै यस्तो निर्णय सुनेर आफैं अचम्ममा परेको बताए। ‘कोरोना संक्रमण भएको स्थानमा पो सजग हुने हो त यसरी पुरै वडानै समेटेर सुचना जारी गर्ने काम बिधिसम्मत हुदैंन’, अध्यक्ष रानामगरले भने।
उता गाउँपालिका कार्यालयलाई भने यस्तो निर्णय बारे कुनै जानकारी छैन। गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत पुरण गुरुङले वडालाई यस्तो निर्णय गर्ने अधिकारनै नभएको बताए। निर्णय गर्नु पुर्व गाउँपालिकालाई कुनै जानकारी नगराइएको समेत उनले जानकारी दिए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मितिनै तोकेर यति गते भित्र गाउँ आइज भन्ने अधिकार यहि अवस्थामा कसैलाई नभएको बताए। ‘तिथिमितिनै जारी गरेर आवजजावत रोक्ने पाइदैन, म यस बिषयमा बुझेर आवस्यक निर्णय लिन्छु’, प्रजिअ भट्टराईले भने ।