Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानको तयारी

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानको तयारी

इच्छाकामना न्युज

१३, भाद्र २०८२
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौँ/भैरहवा । उडान शून्य रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले उडान पुनः उडान सुरु गर्न लागेका छन् ।

images

पोखरा–छेन्दु–अस्ट्रेलिया उडानको प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले राससलाई बताउनुभयो । उहाँका अनुसार उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी छ । आगामी सेप्टेम्बरदेखि उडान गर्ने कम्पनीको योजना रहेको छ । 

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ । 

त्यस्तै भैरहवा समाचारदाताका अनुसार थाई एयर एसियाले अक्टोबर २६ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा दुई उडान गर्ने तयारी गरेको छ भने जजिरा एयरवेजले हिउँदे सिजनदेखि नियमित उडान पुनः सुरु गर्ने योजना सार्वजनिक गरेको छ । यी दुवै एयरलाइन्सले विगतमा भैरहवामा उडान गरेका भए पनि विभिन्न कारणले स्थगित गरेका थिए ।

हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन । नेपाल एयरलाइन्सले काठमाडौँ–मलेसिया–भैरहवा मार्गमा उडान थाले पनि विमान अभावका कारण स्थगित गरेको हो । अहिले भने विभिन्न चार्टर उडान मात्र सञ्चालन भइरहेका छन् ।

उडान सहजीकरणका लागि सरकारले विशेष छुटसमेत उपलब्ध गराएको छ । यो विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रु सेवा शुल्कमा छुट दिइएको छ भने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट छ । साथै नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

गौतम बुद्ध विमानस्थलबाट जजिरा एयरवेजले यसअघि दुई पटक उडान सुरु गरिसकेको थियो । २०७९ फागुनमा दोस्रो पटक सुरु गरिएको उडान साढे दुई महिना पनि टिक्न सकेन । प्राविधिक कारण देखाउँदै कम्पनीले उडान स्थगित गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र १३, २०८२ शुक्रवार - ०७:४४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology