काठमाण्डौ, २४ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताउनुभएको छ । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उहाँले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताउनुभएको हो ।
चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तर सुधारको आवश्यकता रहेको बताउनुभयो । विद्यालयमा भारत सरकारको साढे ६ करोड ४८ लाख रुपैयाँ लागतमा ३२ कोठे भवन निर्माण हुँदैछ । सम्झौता अनुसार ठेकेदार कम्पनीले १५ महिनामा भवन निर्माण गरिसक्नुपर्नेछ ।
हाल भारतको सहयोगमा करिब ७० विद्यालयको पुनर्निर्माण भइरहेको र २८ आंगिक क्याम्पस बनाउने तयारी गरिरहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।