देवचन्द्र भट्ट, नुवाकोट, २४ फागुन । नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका तीन सातापछि पुनः सञ्चालन भएको छ । चिनीया राष्ट्रिय पर्व ल्होसारका कारण वन्द रहेको सो नाकावाट पुनः सामान आयात हुन थालेको छ । काठमाण्डौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकावाट चालु आर्थिक वर्षको यस अवधिमा दुई अर्व वढि राजश्वज संकलन भएको रसुवा भन्सार कार्यालय टिमुरेले जानकारी दिएको छ ।
छिमेकी चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट तीन सानतापछि चिनियाँ सामग्री आयात सुरु भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार चिनीया कन्टेनरमा सामान ल्याउन थालिएको छ । तर, निर्यात भने अझै ठप्प रहेको छ । चीनमा मनाइने नयां वर्षको कारण गत माघ २९ गतेदेखि आयात ठप्प भएकोमा तीन सातापछि चीनको केरुङवाट रसुवागढीतर्फ सामान आयात सुरु भएको हो ।
रसुवा भन्सार कार्यालयका अनुसार हाल दैनिक सरदर चार वटा कन्टेनरमा चिनीया पक्षले सामान ल्याइदिने गरेका छन् । ल्याइएका सामान व्यापारीहरुले भन्सार तिर्नका लागि भन्सारको यार्डमा राखेका छन् ।रसुवागढी नाकाबाट गर्मीयामका लत्ताकपडाका साथै विभिन्न विद्युतीय मेसिन, फर्निचर, जुत्ताचप्पल लगायतका सामग्रीहरु भित्रिएका छन् ।
यसअघि दैनिक ५ वटा गाडीमा सामग्री आयात हुँदै आएकोमा हाल चिनियाँ पक्षले संख्या बढाएर सामग्री आयात गर्ने प्रतिवद्धता जनाएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । रसुवागढी नाका हुदै ल्याइएका सामानहरुको चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा दुई अर्व चार करोड रुपैया राजश्व संकलन भएको रेग्मीले जानकारी दिनुभयो । रसुवागढी नाकालाई चीनले गत सन् २०१७ को सेप्टेम्वर १ तारिखदेखि अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिइसकेको छ । नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । कोभिड–१९ का कारण निर्यात पनि लामो समयदेखि प्रभावित भएको छ ।