हेटौँडा, माघ ८ । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिक कुखुरा बोकेको बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार बिहान करिब १ बजेको समयमा सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको बोलेरो गाडी ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा सहचालक सर्लाहीको बरहथवा नगरपालिका–१ निवासी १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मण्डलको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा बिहान ४ः४५ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
दुर्घटनामा बोलेरो चालक ईन्द्रसरोवर गाउँपालिका–२ का २५ वर्षीय रामवली साह र अर्का सहचालक सोही ठाउँका १६ वर्षीय छोटे पासवान घाइते भएका छन्। साहको शरीरका विभिन्न भागमा चोट लागेको छ भने पासवानको कम्मरमा चोट लागेको छ। दुवै जनाको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी खानिखेत, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक मनोज चौधरीको नेतृत्वमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले घाइते तीनै जनाको उद्धार गरी एम्बुलेन्समार्फत काठमाडौँ पठाएको थियो।
बोलेरो गाडीमा लोड गरिएका करिब ५०० कुखुरामध्ये ३०० वटा कुखुरा मरेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडीमा समेत क्षति पुगेको छ भने दुर्घटनाग्रस्त बोलेरो घटनास्थलमै रहेको छ।