सीता शर्मा, काठमाडौं, २५ फागुन । पछिल्लो समय नेतृत्वदायी भूमिकामा महिलाको सङ्ख्या बढिरहेका छ। उद्यम र व्यवसाय गर्ने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ । कृषि, व्यापार, लगायतका क्षेत्रमा महिलाहरू उद्यमी बनिरहेका छन् । आर्थिक रुपमा समक्ष हुँदा आत्मविश्वास बढेको उद्यम व्यवसायमा संलग्न महिलाहरुको अनुभव छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का लिला तामाङ सिलाई कटाई व्यवसायमा हुनुहुन्छ । २० वर्ष अगाडि आफ्नै व्यवसाय गर्छु भन्दा उहाँले श्रीमानको पनि साथ पाउनुभएन । आफ्नै जोडबलमा सिलाइकटाइ व्यवसाय सुरु गर्नुभएका तामाङले अहिले सफल रुपमा व्यवसाय चलाइरहनुभएको छ । अहिले ५ जनालाई रोजगारी दिनुका साथै राम्रो आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । पर्वतको जलजला गाउँपालिका ६ का जसमाया पुनले अल्लोको कपडा बनाएर आफ्नो परिवार चलाउनु भएको छ । रोजगारीका लागि भारतमा रहनुभएका श्रीमानलाई पनि बोलाएर अल्लो उद्योगलाई थप व्यवस्थित बनाइ काम गरिरहनुभएको छ । अल्लोको थान कपडा, कोट, पछ्यौरा, गलबन्दी लगायतपोखरा र काठमाडौको बजारमा बिक्रि भैरहेको उहाँको भनाइ छ ।
शिवराज नगरपालिका ३ कपिलवस्तुका रजनी अदईले स्नातक तह पास गर्नुभएको छ । तिन वर्ष अगाडी स्थानीय सहकारी संस्थामा व्यवस्थापकका रुपमा काम गर्दागदै उहाँले रेमिट्यान्स व्यवसाय सुरु गर्नुभयो । रोजगारी र व्यवसाय गर्ने महिलाहरुलाई समाजले पनि सम्मान दिने गरेको उहाँको बुझाई छ ।महिलाहरु स्वरोजगार बन्ने तिर आकर्षित भए पनि सहज रुपमा उद्यम व्यवसाय गर्ने वातावरण अझै बन्न नसकेको व्यवसायी महिलाहरुको भनाई छ । महिलाको आर्थिक सशक्तिकरण बिना देशको आर्थिक समृद्धि हुन नसक्ने भएकाले राज्यले महिलाले सञ्चालन गरेका उद्यम व्यवसायलाई थप प्राथमिकता दिनुपर्ने उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा बताउनुहुन्छ ।
उद्योग विभागको २ बर्ष अघिको तथ्याङ्क अनुसार देशभर साना तथा ठूला गरी ३ लाख उद्योग दर्ता भएका छन् । जसमध्ये झन्डै ७० हजारको सङ्ख्यामा महिलाहरु उद्यमशिलतामा संलग्न भएका छन् ।सरकारले दिने विभिन्न सहुलियत कर्जाहरुले पनि उद्यम व्यवसाय लाग्न प्रोत्साहन भइरहेको उद्यमी महिलाहरु बताउँछन् ।