फिस्लिङ, १० माघ । त्रिशूली नदीमा नवौँ राष्ट्रिय राफ्टिङ च्याम्पियनसिप तथा १४ औँ राष्ट्रिय कायक स्लालम प्रतियोगिता २०२६ आयोजना हुने भएको छ। नेपाल राफ्ट एण्ड क्यानोइङ एसोसिएसनको आयोजनामा इच्छाकामना गाउँपालिका–३, फिस्लिङस्थित त्रिशूली नदीमा फेब्रुअरी १ देखि ३ तारिखसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगितामा कायक स्लालम, राफ्ट स्लालम, राफ्ट डाउन–रिभर रेस तथा राफ्ट हेड–टु–हेड विधामा प्रतिस्पर्धा गराइने छ। देशभरका विभिन्न टिम तथा खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी खेलाडीहरूका लागि बिहान र दिउँसोको खानाको व्यवस्था गरिएको छ भने टिम दर्ता शुल्क नलाग्ने बताइएको छ। प्रतियोगिताका विभिन्न विधाका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।