मनकामना । जिल्लाको सहिदलखन गाउँपालिकास्थित मनकामना मन्दिरदेखि पालिकाको केन्द्र घैरुङसम्म नियमित यातायात संचालनमा आएको छ । गाउँपालिका र दरौँदी यातायात सेवा कम्पनी प्रालिको साझेदारीमा मनकामनादेखि घैरुङसम्म नियमित जीप संचालनमा ल्याएको सहिदलखन–२ मनकामनाकी वडाअध्यक्ष सकुन थापा मगरले बताइन् ।
पालिकाबासीको माग र आवश्यकतालाई मध्यनजर गर्दै बिहीबारबाट नियमित रुपमा यातायात संचालनमा ल्याएको उनले जानकारी दिइन् । ‘मनकामनाबाट पालिकाको केन्द्र घैरुङसम्म पुग्न यहाँको स्थानीयहरुले निकै सास्ती खेप्नु परेको थियो’, उनले भनिन्, ‘बाइक स्कुटर हुन त सजिलै ओहोर दोहोर गथ्र्यो । नहुनेहरु कि पठाऔँ कि त महङ्गो भाडा तिरेर गाडी नै रिजर्भ गरेर जानुपर्ने बाध्यता थियो ।’ मनकामनादेखि घैरुङसम्मको करिब १३ किलोमिटर दुरी आवतजावत गर्न पालिकाबासीले ५–६ हजार भाडा तिर्नुपर्ने बाध्यता रहेको वडाअध्यक्ष थापाले सुनाइन् ।
दरौँदी यातायातसँग वडा नं २ को कार्यालयदेखि पालिकाको केन्द्र घैरुङसम्म रु ३०० भाडादर कायम गर्ने सम्झैँता भएको उनको भनाई छ । साथै, सवारी साधनको रुट तथा समय पनि निर्धारण गरिएको छ । ‘नियमित यातायात संचालन भएसँगै मनकामनादेखि घैरुङको बीचमा पर्ने गाउँबस्तीका नागरिकहरुलाई आवतजावतमा धेरै सजह हुन्छ । हाम्रै मनकामनाबासी पनि पालिकासम्म सहजै आउजाउ गर्न सक्छन्’, उनले भनिन् ।
सहिदलखन गाउँपलिकाको अध्यक्ष रमेशबाबु थापा, सहिदलखन गाउँपालिका वडा नं २ की वडाअध्यक्ष, दरौँदी यातायात कम्पनी प्रालिका पदाधिकारीहरु लगायतको उपस्थितिमा बिहीबार एक कार्यक्रमकाबीच नियमित यातायात शुभारम्भ गरिएको हो ।