आँबुखैरेनी । मर्स्याङ्दी युथ क्लब आँबुखैरेनी–३, तनहुँको आयोजनामा आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। शिविरबाट कक्षा १ देखि ५ सम्म अध्ययनरत ४ सय ५१ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्।
शिविरअन्तर्गत विद्यार्थीहरूको निःशुल्क दाँत परीक्षण, मुख तथा दन्त स्वास्थ्यसम्बन्धी परामर्श र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको क्लबका सदस्य विधान गुरुङले जानकारी दिनुभयो। बालबालिकामा देखिने दन्त समस्याको पहिचान गरी समयमै उपचारको पहुँच बढाउने तथा दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
शिविर सञ्चालनमा आँबुखैरेनी गाउँपालिकाको सहयोग रहेको थियो, भने कार्यक्रममा डेन्टल सर्जन डा. सन्ध्या अधिकारी, डा. ईसु घिमिरे, डा. प्रेक्षा सिंह, डा. मेरिना श्रेष्ठ, डा. प्रेरणा भट्टराई, डेन्टल असिस्टेन्ट शान्ति तामाङ, डेन्टल हाइजेनिस्ट जेशिका गुरुङलगायत स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। साथै ओम बिराज डेन्टल, जी.एन.पी. डेन्टल क्लिनिक, युनाइटेड आँबुखैरेनी तथा क्याम्प संयोजक निरज श्रेष्ठको विशेष सहयोग रहेको क्लबले जनाएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस्ता स्वास्थ्य शिविरले बालबालिकाको दन्त स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक प्रेमराम लामिछानेले स्वास्थ्यसम्बन्धी कार्यक्रमबाट विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।