Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज महाशिवरात्री पर्व, पशुपतिका चार वटै ढोका भक्तजनका लागि खुला 

आज महाशिवरात्री पर्व, पशुपतिका चार वटै ढोका भक्तजनका लागि खुला 

इच्छाकामना न्युज

२७, फाल्गुण २०७७
आज महाशिवरात्री पर्व, पशुपतिका चार वटै ढोका भक्तजनका लागि खुला 

काठमाण्डौ, २७ फागुन । आज महाशिवरात्री पर्व, आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गर्छन् ।

images

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।भगवान् महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

यसैबीच भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ । अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।

मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन/तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - ०९:४२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology