काठमाण्डौ, २७ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ । आज भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गर्नुभयो । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ । र, सातदोबाटो ‘ए’ डिभिजन लिगमा उक्लिएको छ ।
सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । च्याम्पियन बन्ने क्रममा सातदोबाटोले ११ खेलमा २८ अंक जोड्यो । आरसिटीले भने १३ अंक जोडेर नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।