Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एसइई : तनहुँमा उत्तरपुस्तिका जाँच्न सुरु

एसइई : तनहुँमा उत्तरपुस्तिका जाँच्न सुरु

इच्छाकामना न्युज

२०, चैत्र २०८२
एसइई : तनहुँमा उत्तरपुस्तिका जाँच्न सुरु

अमरराज नहर्की, तनहुँ । तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो ।

images

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार प्रत्येक उत्तरपुस्तिका तीन दिनभित्र परीक्षण सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाइएको छ । उत्तर पुस्तिका परीक्षणका लागि फरक–फरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षण कार्यलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको इकाइले जनाएको छ । यस कदमले नतिजा प्रकाशनमा हुने ढिलाइ घट्नुका साथै मूल्याङ्कन प्रक्रियामा विश्वसनीयता थप बढ्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।

यस वर्ष तनहुँ जिल्लाबाट कूल ६ हजार १५५ परीक्षार्थी एसइईमा सहभागी भएका छन् । जिल्लाका १७४ सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीका लागि २२ परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको हो । परीक्षार्थीमध्ये नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ एक हजार २१५ जना रहेका छन् । व्यास नगरपालिकाभित्र निर्मल मावि, जलदेवी मावि, सत्यवती मावि, बालमन्दिर मावि, महर्षि वेदव्यास संस्कृत मावि र चण्डीदेवी राष्ट्रिय माविलगायतका विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यसैगरी देवघाट, बन्दीपुर, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भिमाद, ऋषिङ र घिरिङ क्षेत्रका विद्यालयहरूमा केन्द्र कायम गरी जनशक्ति परिचालन गरिएको छ ।

प्रत्येक केन्द्रमा दुई जना विषय विशेषज्ञबाट उत्तरपुस्तिका जाँच भइरहेको र पारदर्शिताका लागि सम्परीक्षकको समेत व्यवस्था गरिएको सूचना अधिकारी बरालले बताउनुभयो । जाँच्ने र जाँचेको पुनः जाँच्ने दुवै प्रक्रियाका लागि शिक्षकलाई पूर्वप्रशिक्षण दिइएको छ ।

प्राविधिक धारतर्फका परीक्षार्थीका लागि व्यास–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ भने पुरानो पाठ्यक्रमअनुसार ग्रेडवृद्धि दिने परीक्षार्थीका लागि निर्मल माध्यमिक विद्यालयमा व्यवस्था मिलाइएको छ । देवघाटस्थित महेश संस्कृत गुरुकुल केन्द्रबाट विभिन्न गुरुकुलका विद्यार्थी तथा ‘माँ कल्याणी वैदिक कन्या गुरुकुल’ का परीक्षार्थीहरूले पनि परीक्षा दिइरहेका छन् । बरालले भन्नुभयो, ‘‘छिटो नतिजा प्रकाशन हुने व्यवस्थाले नयाँ शैक्षिक सत्र वैशाखमै सञ्चालन गर्न सहज हुने छ । ढिलो नतिजाका कारण बढ्दै गएको ब्रिज कोर्स र ट्युशन केन्द्रतर्फको निर्भरता समेत यस व्यवस्थाले स्वतः घट्ने देखिन्छ ।’’

इकाइले परीक्षालाई मर्यादित, भयरहित र व्यवस्थित बनाउन केन्द्राध्यक्षलाई आवश्यक निर्देशन दिइसकेको तथा सुरक्षा निकायसँग समन्वय गरी कडा निगरानी बढाइएको जनाएको छ । “विद्यार्थीले वर्षभरि गरेको मेहनत प्रदर्शन गर्ने उपयुक्त थलो परीक्षा हल नै हो, त्यसैले शान्त र अनुशासित वातावरण सुनिश्चित गरेका छौँ,” बरालले भन्नुभयो । यसअघि एसइई सम्पन्न भएपछि मात्र फरक जिल्लामा उत्तरपुस्तिका जाँच गरिने व्यवस्था थियो । यस पटक भने परीक्षा केन्द्रमै सोही दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । पहिलो दिनको परीक्षा सबै केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भई उत्तरपुस्तिका जाँचसमेत गरिएको इकाइले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०८२ शुक्रवार - ०७:५६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology