भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमा सुधन गुरूङ गृहमन्त्री भएपछि चितवनमा समेत समुदायस्तरमा चर्चा चलेको छ । १७औँ तमू एकता दिवसको अवसरमा तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको दिवस समारोहमा गृहमन्त्री गुरूङको विषयमा चर्चा भएको हो । कानुनअनुसार काम गर्न सुझाव दिँदै चितवनका गुरूङहरुले गृहमन्त्रीको कामप्रति आशा व्यक्त गरेका छन् ।

देशभरका तमूहरु एकतामा आएको दिनस्वरुप २०६५ पछि हरेक वर्ष चैत १८ गते राष्ट्रिय तमू एकता दिवस मनाउँदै आएको बताउँदै तमू ह्युल छोँज धीँका निवर्तमान सङ्घीय अध्यक्ष कर्णबहादुर गुरूङले राम्रो काम गर्ने व्यक्तिको समर्थनमा लाग्नु पर्ने सुझाव दिए । कतिपयले विश्वास नै नमानेका व्यक्तिलाई गृहमन्त्री बनाउँदा तत्काल कार्यप्रगति देखिन थालेको बताउँदै उनले भने, ‘यस्तो विषयमा हामीले समर्थन जनाउनु पर्छ ।’
स्वर्गीय डा रेम गुरूङले आफ्नो पद नै त्यागेर एकतामा ल्याउन तयार भएको भन्दै सकारात्मक विषयमा सबै एक ठाउँमा उभिँदा आवश्यक पर्ने ठाउँमा बल पुग्ने विश्वास दिलाए । ‘हामी सबै एकै ठाउँमा उभिन सक्यौँ भने राज्यसँग हाम्रा हकअधिकार माग्न पनि बलियो आधार तय हुन्छ,’ कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले भने, ‘नेतृत्वलाई खबरदारी गर्न पनि बल पुग्छ ।’ सबै गुरूङहरुलाई साझा बनाउनको लागि जिल्ला समितिले वडा तहसम्म आफ्नो सङ्गठनलाई बलियो बनाउन सक्नुपर्ने उनले सुझाव दिए ।
तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदका सङ्घीय सदस्य तुलाराम गुरूङले तमू एकता भएको दिनलाई गौरवको दिनका रुपमा लिनुपर्ने बताए । सुधन गुरूङ गृहमन्त्री बनेको विषयमा पनि गुरूङ समुदायले गौरवको रुपमा लिनुपर्ने उनको भनाइ छ ।

ह्युल छोँज धीँका अग्रज नेता देवेन्द्रबहादुर गुरूङले भने एकताका विभिन्न पाटाहरु हुने हुँदा ती सबै पाटालाई बिस्तारै समेटेर एउटै धारमा ल्याउन सक्नुपर्ने बताए । संस्थागत एकता, भाषागत एकता, सांस्कृतिक एकता, भेषभूषामा एकता आदि विषयलाई क्रमिकरुपमा सुधार गर्दै लैजान सके भोलिका दिनमा भेगीय आधारमा हुँदै आएका बेमेलहरु अन्त्य हुने उनले बताए ।
ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरूङले पनि सुधन गुरूङ गृहमन्त्री बन्दा देशभरका गुरूङ समुदाय खुसी भएको भन्दै बधाई दिए । नयाँ पुस्ताका गुरूङले नेतृत्वमा रहेर राम्रो गर्न सके इतिहासमा गुरूङ जातिको पहिचान थप बलियो बन्ने उनले बताए । ‘यस्तै विषयमा हामी एक ठाउँमा उभिनु पर्छ । दलीय दृष्टिमा उभिनु हुँदैन,’ उनी भन्छन्, ‘दलको आस्था र बिचार जहाँ भए पनि जातीय दृष्टिमा हामी एकै ठाउँमा छौँ भन्ने सबैले बुझ्न जरुरी छ ।’
कार्यक्रममा तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमू, ह्युल छोँज धीँका अग्रज नेताहरु शारदा गुरूङ, चन्द्रमान गुरूङलगायतले पनि तमू एकता दिवसबारे ब्याख्या गरेका थिए ।