मुग्लिङ । पृथ्वी राजमार्ग स्तरोन्नति योजना अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनी खण्डलाई स्तरोन्नति प्रक्रिया सुरु गरिएको छ । यो खण्डमा चट्टान र पहाडका कारण गोरखातर्फ डाइभर्ट गरी नयाँ ट्र्याक खोल्न लागिएको हो ।
प्राविधिक डिजाइन अनुसार यो सडक तनहुँतर्फ ४ लेन र गोरखातर्फ २ लेनको हुनेछ । हालको सडकलाई विस्तार गर्दा भौगोलिक कठिनाइ हुने देखिएपछि गोरखातर्फ नयाँ ट्र्याक खोलेर सडक लैजान लागिएको हो ।
तनहुँ खण्डमा सडकको केन्द्र विन्दुबाट २५/२५ मिटर र गोरखा खण्डमा १५/१५ मिटर राइट अफ वे कायम गरिएको छ । नयाँ ट्र्याक खोल्नका लागि गोरखाको शहीद लखन गाउँपालिकामा प्रभावित क्षेत्रका नागरिकसँग छलफल गरिएको छ । मुग्लिन–पोखरा राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको कुल लम्बाई ८.७४ किलोमिटर छ ।
यस क्रममा केही सार्वजनिक संरचनाहरूमा समेत क्षति पुग्ने अनुमान गरिएको छ । आयोजनाका तर्फबाट सामाजिक परामर्शदाताहरूले सडक निर्माणबाट प्रभावित हुने घर, संरचना र निजी जग्गाको उचित क्षतिपूर्ति (मुआब्जा) दिइने प्रतिबद्धता जनाएका छन् ।
यो सडक खण्डको आँबुखैरेनीदेखि पोखरासम्मको काम अन्तिम चरणमा पुगेको छ । सहरी क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण भइरहेको छ । मादी र सेती नदीमा आकर्षक सिग्नेचर पुल निर्माण चलिरहेको छ ।
अन्यत्र सबै खोला र खोल्साहरूमा पुल निर्माण लगभग सकिने चरणमा छ । मुग्लीन आँबुखैरेनी खण्डको कान्टारमा भएको भेलामा स्थानीय हाटबजार, पर्व र रीतिरिवाजमा असर नपर्ने गरी आयोजनालाई अगाडि बढाउन स्थानीयले माग गरेका छन्।
यस्तै, सोही खण्डमा पर्ने त्रिवेणी मन्दिरमा आवतजावत गर्ने बाटो र मन्दिरको सौन्दर्यीकरणमा सहयोग गर्न आयोजनाले सहजीकरण गर्ने सहमति भएको छ । स्थानीयहरूले नाम्जुङटार, कान्टार हुँदै रामशाहघाटसम्म करिब २.५ किलोमिटर सडक थप विस्तार गरी निर्माण गर्दा प्रभावकारी हुने प्रस्ताव अघि सारेका छन्।