Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पहिरो हटेपछि बेनीघाट–लार्के सडक दुई सातापछि सञ्चालनमा

पहिरो हटेपछि बेनीघाट–लार्के सडक दुई सातापछि सञ्चालनमा

इच्छाकामना न्युज

७, बैशाख २०८३
पहिरो हटेपछि बेनीघाट–लार्के सडक दुई सातापछि सञ्चालनमा

गुणबहादुर रोका, सुलीकोट। गोरखा जिल्लाको महत्त्वपूर्ण बेनीघाट–लार्के सडकखण्डमा गएको पहिरो हटाइएपछि दुई सातापछि पुनः यातायात सञ्चालनमा आएको छ । गत चैत २२ गतेदेखि अवरुद्ध रहेको उक्त सडक आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

images

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ स्थित कालोभीर क्षेत्रमा खसेको सुख्खा पहिरो लामो प्रयासपछि हटाइएपछि सवारीसाधन आवतजावत सुरु भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा हिमालपारिको चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक जीवनमा ठुलो कठिनाइ भोग्नुपरेको थियो । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, “उत्तरी गोरखा पुग्ने मुख्य सडक अवरुद्ध भएपछि खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी ठप्प हुँदा स्थानीयवासी मारमा परे। विकास निर्माणका कामसमेत प्रभावित बने ।”

सडक अस्थायी रूपमा भए पनि सञ्चालनमा आएपछि खाद्यान्न ढुवानी र आवतजावतमा सहज भएको चुमनुब्री गाउँपालिका–३, फिलिमका स्थानीय युवा सुजन गुरुङले बताउनुभयो । उहाँका अनुसार यससँगै मनास्लु क्षेत्र तथा चुमभ्यालीतर्फ जाने पर्यटकलाई समेत राहत पुगेको छ ।

सडक सञ्चालनमा आएसँगै उत्तरी गोरखाको होटल व्यवसाय तथा पर्यटन गतिविधिमा देखिएको अवरोध हटेपछि स्थानीय व्यवसायमा सकारात्मक प्रभाव परेको फिलिमका होटल व्यवसायी फुञ्जो लामाले बताउनुभयो ।

सडक खुलाउन धार्चे गाउँपालिकाले स्थानीय दुई जलविद्युत् कम्पनीसँग सहयोग मागेको थियो । सोही अनुरूप साहस ऊर्जा र यारूखोला हाइड्रोपावर कम्पनीले संयुक्त रूपमा पहिरो पन्छाउने काम सम्पन्न गरी सडक सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको गाउँपालिकाले जनाएको छ ।

हाल सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै स्थानीयवासीमा राहत महसुस भएको छ । अब नियमित आपूर्ति, आवतजावत तथा विकास निर्माणका कामहरू सहज रूपमा अघि बढ्ने विश्वास गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०८३ सोमवार - १०:४७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology