चितवन
गोरे गुरूङद्वारा निर्देशित चलचित्र ‘हाम्रो बाचा बन्धन–२’ चितवनमा प्रदर्शन हुने भएको छ। भोलि आइतबार इन्द्रदेव चलचित्र मन्दिरमा प्रदर्शन हुने गुरूङ फिल्म शो युनिट अफ चितवनले जनाएको छ। क्यान्सर पीडित बिरामीहरुको सहयोगार्थ प्रदर्शन गर्न लागेको कार्यक्रम संयोजक सुमित गुरूङले जानकारी दिए।
उनका अनुसार निर्माता, निर्देशकसँगै कलाकारहरुको उपस्थितिमा चितवनवासी दर्शकलाई चलचित्र देखाउन खोजिएको हो। चलचित्र केवल मनोरञ्जनमात्र नभई सामाजिक योगदानको लागि पनि देखाइन्छ भन्ने विषयलाई समाजमा बताउनको लागि पनि समाज केन्द्रित गरी प्रर्दशन गर्न लागिएको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए।
त्यसबाहेक भाषा, संस्कृति र भेषभूषा संरक्षणको लागि पनि टेवा पुग्ने गरी चलचित्र निर्माण गरिएको हुँदा प्रत्यक्ष समुदायसँग सम्बन्धित चलचित्र प्रदर्शन गर्न लागेको उनले बताए। बिहान साढे ११ बजेदेखि प्रदर्शन हुने चलचित्रको लागि टिकट दर रु ५०० र रु ३०० कायम गरिएको उनले बताए। क्यान्सरका बिरामीको उपचार सहयोगार्थ प्रदर्शन भएको हुँदा सहयोग गर्न चाहनेले जति पनि दिन सकिने उनको भनाइ छ।
मुनाल फिल्म्स् प्रालिको ब्यानरमा बनेको चलचित्रमा टेक गुरूङ, किशन गुरूङ, विक्रम रानामगर, मनोज गुरूङ, प्रमिला गुरूङ, लक्ष्मी गुरूङ, शुष्मा गुरूङ, प्रीति घले, कुविना गुरूङ, टीकाराम घलेलगायतका कलाकारहरुले अभिनय गरेका छन्।
दिल घले र गोरे गुरूङ (गमबहादुर)को लगानी रहेको चलचित्रका लेखन तथा निर्देशन पनि उनै गोरे गुरूङले गरेका हुन्। करिब साढे दुई दशकअघि बनेको ‘बाचा–बन्धन’को लोकप्रियतासँगै कलाकारसमेत रहेका गोरे गुरूङको उचाइ आकाशिएको थियो। त्यसैको दोस्रो भागस्वरुप साढे दुई दशकपछि दोस्रो पुस्ताका कलाकारहरुको उपस्थितिमा चलचित्र निर्माण गरिएको हो।