Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दौडमै भविष्य देखेका आँबुखैरेनी बरादीका २६ वर्षीय सनम गुरुङ

दौडमै भविष्य देखेका आँबुखैरेनी बरादीका २६ वर्षीय सनम गुरुङ

इच्छाकामना न्युज

१६, बैशाख २०८३
दौडमै भविष्य देखेका आँबुखैरेनी बरादीका २६ वर्षीय सनम गुरुङ

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किनुभएका उहाँले आफ्नो भविष्य दौडमा देख्नुभएको छ ।

images

विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आउनुभएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता हासिल गर्नुभएको छ । उहाँले हालसम्म एक सयभन्दा बढी दौड प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । तनहुँसहित लमजुङ, गोरखा, स्याङ्जा, चितवन, बागलुङ र धादिङलगायत विभिन्न जिल्लामा आफ्नो क्षमता प्रस्तुत गरिसक्नुभएका उहाँले ७० भन्दा बढी पदक जित्न सफल हुनुभएको छ । यो उहाँका लागिमात्र नभई आँबुखैरेनी र तनहुँ जिल्लाका लागि पनि गर्वको विषय बनेको छ ।

विशेषगरी तनहुँका विभिन्न स्थानमा आयोजित प्रतियोगितामा उहाँले बारम्बार प्रथम स्थान हासिल गर्दै आफ्नो पहिचान स्थापित गर्नुभएको छ । गुरुङले सोमबारमात्रै गोरखामा आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँका अनुसार दौड प्रतियोगिताबारे जानकारी पाउन अहिले सामाजिक सञ्जाल मुख्य माध्यम बनेको छ । “कतिपय प्रतियोगिताको जानकारी फेसबुकजस्ता प्लेटफर्मबाट थाहा हुन्छ, कहिलेकाहीँ आयोजकले नै सम्पर्क गर्नुहुन्छ, साथीभाइले पनि खबर गर्छन्”, उहाँ भन्नुहुन्छ । साथै विभिन्न सञ्चारमाध्यममा आउने खेलसम्बन्धी समाचार पनि उहाँका लागि उपयोगी स्रोत बनेका छन् ।

सनमको सफलताको पछाडि उहाँको परिवार, विशेषगरी आमाको महत्त्वपूर्ण भूमिका रहेको छ । उहाँ आमासँगै बस्दै आउनुभएको र आमाले हरेक पाइलामा साथ दिँदै उहाँलाई प्रेरणा दिइरहेको बताउनुहुन्छ । “आमाको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ”, सनम भन्नुहुन्छ ।

आर्थिक दृष्टिले खेलकुद क्षेत्रमा चुनौतीहरू रहे पनि उहाँले पैसाभन्दा सन्तुष्टिलाई ठूलो ठान्नुभएको छ । “दौडमै मेरो भविष्य देखेको छु । मिहिनेत गरिरहेको छु । अहिलेसम्म विदेश जाने सोच बनाएको छैन”, उहाँ भन्नुहुन्छ । उहाँका लागि दौड केवल प्रतिस्पर्धामात्र होइन, जीवनको उद्देश्य र आत्मसन्तुष्टिको माध्यम बनेको छ ।

भविष्यमा अझ ठूला प्रतियोगितामा सहभागिता जनाउँदै देशको नाम उँचो बनाउने लक्ष्य राख्नुभएका सनम अहिले पनि नियमित अभ्यासमा व्यस्त हुनुहुन्छ । आवश्यक पूर्वाधार र अवसरको अभावका बाबजुद उहाँले हार नमानी आफ्नो यात्रालाई निरन्तरता दिइरहनुभएको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - १६:३२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology