फिस्लिङ।
देशकै जीवनरेखा (लाइफलाइन) मानिएको व्यस्त सडक पृथ्वीराजमार्ग । साँघुरो सडकमा सवारीको भीड,धुलो र धुवाँबीच त्यही सडकको कुनामा सानो घुम्ती । बिहानको खाना खाइसकेपछि सूर्यनारायणले बिदा नलिएसम्म घुम्तीको आडमा बलिरहन्छ आगो । र, त्यही आगोमा पोलिन्छ मकै । त्यही मकैसँगै पाकिरहेको हुन्छ एक महिलाको जीवन सङ्घर्षको कथा ।
उमेरको तीन दशक सेरोफेरोमा यात्रा गरिरहेकी विमाया गुरूङलाई विगत केही वर्षदेखि यही सडकको कुना फापेको छ । मकै पोलेर जीविकोपार्जन गर्दै आएकी उनले सडकको कुनामै बसेर आफ्ना दुई सन्तानलाई बाटो देखाउने सपना देखेकी छन् । जीवन चलाउन भन्दै गाउँघरमा खेतीपातीसँगै किराना पसल चलाएर गुजारा गर्न नसकेपछि उनी यो ठाउँमा आइपुगेकी हुन् ।
‘गाउँमा पसल गरेर बस्दा उधारो धेरै, नगद कम । पैसा नउठेर हैरानी उस्तै’, उनी भन्छिन्, ‘यहाँ त पाँच रूपैयाँ भए पनि नगद हुन्छ ।’ उधारोको हैरानीले नगदको खोजीमा सडककिनारमा ल्याइदिएको विमायाको जीवनमा व्यापारको सुरूवात सहज थिएन । सुरूदेखि नै अधिकांश ग्राहकले उधारो माग्ने । गाउँघरमा नदिई पनि नहुने भएपछि उनलाई आम्दानीभन्दा खर्च (ऋण) बढ्दै गयो ।
सधैँ उधारो कारोबारबाट जीवन चल्ने नदेखिएपछि उनी पनि पसल छाडेर आमासँगै सडकमा आइन् । पहिलेदेखि नै फलफूल बेच्दै आएकी आमाको ठेलालाई आड पारेर चटपटे बेच्न थालिन् । सामान्य लगानीमा चटपट बेच्दै आएकी उनले यसैमा आम्दानी हुने सङ्केत पाएपछि आफ्नै ठेला बनाइन् । आज त्यही ठेला उनको मुख्य आयस्रोत बनेको छ । अहिले उनी मकैसँगै काँक्रो र चटपटे बेच्छिन्, अरुभन्दा फरक देखिन र ग्राहक तान्न ।
किनकि, यो सडककिनारमा व्यापार गर्नेहरुको सङ्ख्या १० जनाभन्दा बढी छ । त्यसमा अरुसँग ग्राहक नजुधोस् भनेर उनले काँक्रो र चटपटेलाई रोजेकी हुन् । अहिले हरेक दिन बिहानको समयमा घरको कामसँगै सामान जुटाउने काममा सक्रिय हुन्छिन् उनी । मकै भरतपुरबाट आउने भए पनि काँक्रो यहीँ माथि गाउँबाट झर्छ । प्रायजसो ल्याइदिने सामान कहिलेकाहीँ नआइदिँदा भने सामान खोज्नको समस्या छ ।
‘सामान अभाव हुँदा कहिलेकाहीँ दिउँसोसम्म पर्खनुपर्छ’, उनी भन्छिन्, ‘अरु बेला त्यति धेरै तनाव लिनुपर्दैन ।’ दिनभरि बेच्दा औसतमा २ हजारदेखि ५ हजार रूपैयाँसम्म कारोबार हुन्छ । त्यसले घरखर्च राम्रैसँग चलेको छ । श्रीमान्ले कमाएर ल्याएको पैसाले उनको आम्दानीमाथि थप टेवा पुगेको छ ।
जोखिमले घेरिएको काम
देशको मुख्य राजमार्ग भए पनि पानीधारो क्षेत्रमा सडक अलि साँघुरो छ । त्यसकारण ठूला सवारीसाधन रोकिँदैनन्, तर मोटरसाइकल र साना गाडीहरु रोकिन्छन् । त्यसकारण दुर्घटनाको जोखिम पनि सधैँ रहिरहन्छ । एकपटक उनको ठेलामा ट्रकले ठक्कर दिँदा क्षति भयो । त्यतिबेला भाग्न खोजेको गाडीलाई रोकेर क्षतिपूर्ति तिराएको पनि उनी सम्झिन्छिन् ।
पानी पर्दा व्यापार रोकिन्छ । पहिरो आउने त्रास पनि उत्तिकै छ । खानेपानीको सुविधा भएको हुँदा पहिलेदेखि नै यो ठाउँमा व्यपार गर्दै आएको उनी बताउँछिन् । ‘जल्ले जहाँ जे गरे पनि पानी त चाहियो । यहाँ पानीको स्रोत राम्रो छ’, उनी भन्छिन्, ‘त्यसकारण वर्षौंदेखि हाम्रा आमा, दिदीहरु यही ठाउँमा बसेर व्यापार गर्दै आउनुभएको छ ।’
मौसम र स्वास्थ्यको चुनौती
जाडोमा चिसो, वर्षामा पानी, गर्मीमा घाम– तीनै मौसमले उनलाई सताउँछ । त्रिपालले सानो पानी त छेक्छ, तर ठूलो वर्षा हुँदा सामान छोपेर घर फर्कनुबाहेक विकल्प छैन । धुलो र धुवाँका कारण स्वास्थ्यमा पनि असर परेको छ । ‘तीन–चार महिना खोकीले सतायो’, उनी भन्छिन्, ‘अगाडिको भागमा तातो राप आए पनि पछाडि त्रिशूलीको स्याँठले हिर्काउँदा शरीरमा चिसो पसेछ । उपचार गर्दा राम्रै खर्च आयो ।’
फिस्लिङ क्षेत्रमा अहिले करिब १०–११ जना सडक व्यापारी छन्, जहाँ पहिले २–३ जनामात्रै थिए । सबैले आआफ्नो तरिकाले व्यापार गर्छन्, तर प्रतिस्पर्धाभन्दा पनि सहअस्तित्व बढी देखिन्छ । विमाया भन्छिन्, ‘एकदिन नआए ग्राहकले सोध्छन्, मकै पोल्ने दिदी कहाँ जानुभएछ भनेर ।’ दुई महिना बिरामी भएर नआउँदा धेरैले चासो राखेको साथीहरुबाट उनले थाह पाएकी छन् ।
स्थानीय सरकारसँग अपेक्षा
वर्षौंदेखि सडकको कुना च्यापेरै गर्जो टार्दै आएका सडक व्यापारीलाई केही समयअघि इच्छाकामना गाउँपालिकाले हटाउन खोजेको थियो । पालिकाका प्रतिनिधिहरु आएर दर्ता र शुल्कको कुरा गरे । सानो ठेलाका लागि मासिक ९०० रूपैयाँ र खुला ठाउँका लागि २५०० रूपैयाँ । तर, व्यापारीहरुले बिनासुविधा कुनै पनि शुल्न नतिर्ने बताएपछि गाउँपालिका फर्केर गयो । ‘पहिले शौचालय, बस्ने ठाउँ र ओत दिने संरचना बनाइदिनुहोस् । त्यसपछि जति तिर्नु परे पनि तयार छौँ’, उनी भन्छिन्, ‘रकम उठाउने भएपछि त सुविधा पनि दिनुपर्ने होला नि त ?’
सङ्घर्षबीच पनि विमाया सन्तुष्ट देखिन्छिन् । ‘अरुसँग माग्नुपर्दैन, आफ्नै कमाइले घर चलाउन पाएको छु’, विमाया भन्छिन्, ‘छोराछोरीको पढाइ, घरखर्च– सबै यही व्यापारले धानेको छ ।’ उनका लागि यो काम केवल रोजगारी होइन, आत्मनिर्भरता र सम्मानको बाटो हो ।