सरकारले वि.सं. २०८७ सालभित्र सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने राष्ट्रिय लक्ष्य लिएको सन्दर्भमा नेपाल सरकार ले तय गरेको मापदण्डअनुसार स्थानीय तहहरूमा तयारी तीव्र पारिएको छ। सोही लक्ष्यअनुरूप सहिद लखन गाउँपालिका ले वि.स. २०८३ फागुन मसान्तभित्र आफूलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने निर्णय गरेको जनाएको छ।
बालमैत्री स्थानीय तह घोषणा गर्नका लागि सरकारले निर्धारण गरेका विभिन्न मुख्य सूचकहरू पूरा गर्नुपर्ने व्यवस्था छ। ती सूचकहरू बालअधिकारका चार आधारभूत पक्ष—बाँच्न पाउने अधिकार, बाल संरक्षण, बाल विकास तथा बाल सहभागितामा आधारित रहेका छन् ।
यसै सन्दर्भमा गाउँपालिकाले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना–२०८२ को प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बालविवाह न्यूनीकरण, बालअधिकार संरक्षण तथा बालमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, सामाजिक संघसंस्था तथा समुदायको साझा जिम्मेवारीबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले बालविवाह बालअधिकार उल्लङ्घनको गम्भीर विषय भएकाले यसको अन्त्यका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्। साथै, बालमैत्री स्थानीय तह घोषणा केवल औपचारिकता नभई बालबालिकाको समग्र हित सुनिश्चित गर्ने दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गरिएको छ। गाउँपालिकाले निर्धारित समयसीमाभित्र आवश्यक सूचकहरू पूरा गर्दै बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीलाई थप प्रभावकारी बनाउने जनाएको छ।
प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार -
१०:४९:१२ बजे
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।