भरतपुर ।
चितवनका स्कुल बसलाई सुरक्षित बनाउन कसरत गरिएको छ । स्कुल बस कति सुरक्षित छन् ? कतै असुरक्षित त छैनन् ? यही पत्ता लगाउन चितवन ट्राफिकले कसरत थालेको छ । स्कुल बसलाई सुरक्षित बनाउनकै लागि जिल्ला ट्राफिक कार्यालय भरतपुरले स्कुल बसको यान्त्रिक परीक्षणसँगै चालक र सहचालकहरुको स्वास्थ्य परीक्षण चलाएको छ ।
जिल्ला प्रहरी कार्यालयअगाडि रहेको गेस्ट हाउस चौरमा बुधबार ५५ वटा स्कुल बसको यान्त्रिक परीक्षण गरिएको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले स्कुले बाबुनानी चढ्ने स्कुल बसको यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले बसको यान्त्रिक परीक्षण गरिएको बताए । उनका अनुसार यान्त्रिक परीक्षण तीन दिनसम्म चल्नेछ । त्यसमा यातायात व्यवस्था कार्यालय भरतपुर, प्याब्सन भरतपुर, चितवन अटो मेकानिकल व्यवसायी संघको सहकार्य रहेको छ ।
‘५५ वटा स्कुल बसको यान्त्रिक परीक्षण गर्दा ठूलो समस्या देखिएन, तर साना केही समस्याहरु पाइयो, ती समस्याहरु ठूला बन्दै गएर स्कुल बस नै असुरक्षित हुन सक्छ’ थापाले भने, ‘तत्काल सुधार गर्न निर्देशन गरेका छौँ, बिहीबार र शुक्रबार पनि यान्त्रिक परीक्षण हुनेछ ।’ तीन दिनसम्मको यान्त्रिक परीक्षण भरतपुरको गेस्ट हाउसमा चल्नेछ । पश्चिम चितवन र पूर्वी चितवनमा पनि स्कुल बसको यान्त्रिक परीक्षण हुने प्रहरी निरीक्षक थापाले बताए । ‘स्कुल बस सुरक्षित कि असुरक्षित ? पत्ता लगाउँछौँ’ उनले भने ।
पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा स्कुल बसका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो । झन्डै एक सय जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरियो । ‘स्कुल बसका चालक र सहचालकको मानसिक तथा शारीरिक जाँच गरिएको थियो, कहिलेकाहीँ चालक र सहचालकको स्वास्थ्य अवस्था ठीक नहुँदा पनि दुर्घटना बढ्छ’ थापाले भने, ‘गाडीको यान्त्रिक परीक्षणसँगसँगै चालक र सहचालकको पनि स्वास्थ्य परीक्षण गरिएको हो ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले अन्य बसका चालकका तुलनामा स्कुल बसका चालक अझ बढी जिम्मेवार, धैर्यवान् र बढी संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘भविष्यका कर्णधारलाई बोकेर हिँड्ने बस र चालक दुवै सबै ठीक हुनुपर्छ, बसमा सानो त्रुटि हुनासाथ सर्भिसिङ गराउनुपर्छ ।’ उनका अनुसार विद्यार्थी बोक्ने बस कुनै हालतमा असुरक्षित हुनुहुँदैन ।
स्वास्थ्य परीक्षणमा खटिएका पुरानो मेडिकल कलेजका निमित्त मेसु डा. सुदीपराज केसीले चालक र सहचालकको स्वास्थ्य परीक्षणमा ठूलो समस्या नदेखिएको बताए । उनका अनुसार करिब १०० जना चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्दा केहीको उच्च रक्तचाप र केहीको सुगर देखिएको थियो । केही चालकले चस्मा लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । ‘स्वास्थ्य तथा आँखामा समस्या देखिएका चालक र सहचालकलाई अस्पताल रिफर गरिएको छ’, डा. केसीले भने ।
चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष योगराज ढकालले बसको यान्त्रिक गडबडीले दुर्घटनाको जोखिम अत्यधिक बढ्ने बताए । प्याब्सन भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटीले सबै स्कुल बसको यान्त्रिक परीक्षणसँगै चालक र सहचालकको परीक्षण हुने बताए ।
विद्यालयका बसहरुलाई दुर्घटनाबाट जोगाउन यस खालको परीक्षण आवश्यक रहेको अभिभावकहरुको भनाइ छ । ‘सामान्य कमजोरी, त्रुटि अथवा यान्त्रिक समस्यामा विद्यालयहरुले भोलि गरौँला, पर्सि गरौँला भन्न सक्छन्, यस्तो बेलामा दुर्घटना हुन सक्छ, बेलैमा सचेत बनाउन प्रहरी प्रशासनले चालेको कदमको उच्च प्रशंसा गर्दछौँ’, शिक्षक अभिभावक संघका अध्यक्षहरु बताउँछन् ।