Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

सर्वोच्चको फैसला कार्यान्वयन, शिक्षक र कर्मचारीले सुविधा पाउने बाटो खुल्यो

सर्वोच्चको फैसला कार्यान्वयन, शिक्षक र कर्मचारीले सुविधा पाउने बाटो खुल्यो

images

इच्छाकामना न्युज

२४, बैशाख २०८३
सर्वोच्चको फैसला कार्यान्वयन, शिक्षक र कर्मचारीले सुविधा पाउने बाटो खुल्यो
images

भरतपुर ।

मुग्लिन बजारमा रहेको त्रिवेणी बराह नन्दप्रसाद त्रिपाठी माध्यमिक विद्यालय प्रशासनले बल्ल सर्वोच्चको फैसला कार्यान्वयन गरेको छ । विद्यालयको नामको विषयमा विवाद भएपछि सर्वोच्च अदालतले २०८१ साल वैशाख ३१ गरेको फैसलासमेत कार्यान्वयन नगरिदिँदा गत कात्तिक महिनादेखि विद्यालयका कर्मचारीले पाउनुपर्ने सबै सेवासुविधा रोक्का भएको थियो । विद्यार्थीका लागि सरकारले दिने गरेको दिवा खाजासमेत रोकिएको थियो ।

विद्यालय प्रशासनले समुदायलाई देखाउँदै सर्वोच्चको फैसला कार्यान्वयन नगरेपछि इच्छाकामना गाउँपालिकाले पटकपटक दबाब दिए पनि फैसला कार्यान्वयन भएको थिएन । उपाय नलागेपछि गाउँपालिकाले सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय गुहारेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्यालय प्रशासन, व्यवस्थापन समिति, राजनीतिक दलका प्रमुख सबैलाई बोलाएर फैसला कार्यान्वयन गर्न ठाडो निर्देशन दिएका थिए ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि बल्ल निर्णय कार्यान्वयन भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिको बैठकपछि बैंकमा सेवाग्राही विवरण अध्यावधिक (केवाइसी) गर्ने काम भएकोले गाउँपालिकाबाट हालसम्म रोक्का भएको सबै रकम विद्यालयको खातामा जम्मा गरिदिइसकेको उनले बताए ।

मुग्लिनका स्थानीय नन्दप्रसाद त्रिपाठीका परिवारले विद्यालयलाई दानस्वरुप दिएको जमिनको मूल्याङ्कनका आधारमा विद्यालयको नाममा पछाडि नन्दप्रसाद त्रिपाठी थप्ने विषयमा जिल्ला, उच्च हुँदै सर्वोच्चसम्म पुगेको मुद्दामा सर्वोच्चले नाम थप्ने विषयमा फैसला गरेपछि विद्यालय प्रशासनले नाम थप्न नमानेर बैंक खातासमेत पुरानै नाममा सञ्चालन गर्दा गाउँपालिकालाई बजेट निकासा गर्नका लागि कानुनी समस्या परेको थियो ।

अहिले त्रिवेणी बराह माध्यमिक विद्यालय नाममा रहेको खाता व्यवस्थापन समितिको बैठकपछिको निर्णयले त्रिवेणी बराह नन्दप्रसाद त्रिपाठीमा बैंक खाता अध्यावधिक भएपछि पालिकाले विद्यालयलाई रकम निकासा गरिदिएको अध्यक्ष गुरूङले बताए । आधा वर्षदेखि आफ्नो तलब सुविधा नै रोकिएपछि विद्यालयका शिक्षक, कर्मचारीहरु पठनपाठन नै अवरूद्ध गरेर आन्दोलनमा होमिएका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बैठक बसेर प्रमुख जिल्ला अधिकारीले कानुनभन्दा माथि कोही पनि नहुने भन्दै फैसला कार्यान्वयन गर्न निर्देशन दिएपछि शिक्षक, कर्मचारीहरुको आन्दोलनसमेत स्थगित भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २४, २०८३ बिहिवार - १५:०१:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology