Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

तनहुँको बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँको बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

images

इच्छाकामना न्युज

३१, बैशाख २०८३
तनहुँको बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
images

बन्दीपुर (तनहुँ),

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन् । लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब रु २० लाख मूल्यका दुईवटा मेसिन सहयोग गरेको हो । जसमा क्लिया मेसिन र पिटी/आइएनआर मेसिन रहेका छन् । क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर(सिए १२५), प्रोस्टेटको क्यान्सर (पिएसए) लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डा गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी, पिटी/आइएनआर मेसिनले रगत जम्नेसम्बन्धी र मुटुरोगी तथा सर्प वा अरिङ्गालले टोकेका बिरामीको परीक्षणमा समेत क्लिया मेसिन उपयोगी हुने बताइएको छ । त्यसैगरी, भरतपुर चितवनस्थित लोयल ट्रेडर्सले करिब रु २० लाख मूल्यका उपकरण उपलब्ध गराएको छ । जसअन्तर्गत पूर्ण रुपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) परीक्षण मेसिन र ‘हेमाटोलोजी एनालाइजर’ मेसिन रहेको अस्पतालले जनाएको छ ।

बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका परीक्षण गरिन्छ । यसैगरी, ‘सिविसी एनालाइजर’ले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न ‘सेल’हरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतले अब बन्दीपुर क्षेत्रका नागरिकले सामान्यदेखि विशेष स्वास्थ्य परीक्षणका लागि पोखरा, चितवन वा काठमाडौँ धाउन नपर्ने बताउनुभयो । उहाँका अनुसार अत्याधुनिक उपकरण जडानसँगै अधिकांश परीक्षण सेवा अब बन्दीपुरमै उपलब्ध हुनेछ ।

त्यस्तै, गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उपकरण सहयोगले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले बन्दीपुरसहित तनहुँका भानु, व्यास, आँबुखैरेनी पालिका, गोरखा र लमजुङका नागरिकले समेत स्वास्थ्य सेवा लिनसक्ने बताउनुभयो ।

बन्दीपुर अस्पतालमा पछिल्लो एक वर्षमा २४ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य सेवा लिएका छन् । हरेक दिन बिहान ७ः०० देखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन भइरहेको विस्तारित बहिरङ्ग (ओपिडी) सेवाका कारण बिरामीलाई उपचारमा थप सहज भएको अस्पतालले स्पष्ट गरेको छ ।

हाल १५ शय्या क्षमतामा सञ्चालन भइरहेको अस्पतालमा आँखा, प्रसूति, दाँत, प्रयोगशाला, ‘फार्मेसी’लगायत सेवा प्रवाह हुँदै आएको छ । विसं २०२२ साल स्थापना भएको बन्दीपर अस्पतालको निर्माणाधीन नयाँ भवन तयार भएसँगै सेवा विविधीकरण गरी गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल प्रतिबद्ध रहेको सुपरिटेन्डेन्ट डा गिरीले जानकारी दिनुभयो । रासस

 
 

images
प्रकाशित मिति :बैशाख ३१, २०८३ बिहिवार - १४:३८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology