चितवन। चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ ।
यस्तो जोखिमपूर्ण उपचार गर्न दक्ष जनशक्ति र आधुनिक उपकरण आवश्यक पर्ने अस्पतालको ‘क्याथल्याब इञ्चार्ज’ अमृत काफ्लेले बताउनुभयो । अस्पतालसँग ‘बिआई–प्लेन क्याथ ल्याब’ भएकै कारण यो उपचार सम्भव भएको उहाँको भनाइ छ । आइतबार शल्यक्रिया गरिएकी ती युवतीलाई सोमबार वार्डमा सारिएको र आज अवस्था हेरेर डिस्चार्ज गर्ने तयारी गरिएको काफ्लेले जानकारी दिनुभयो ।
डा साहका अनुसार मानिसमा शरीरको प्रतीरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ । उपचारका क्रममा नसा थप फुट्न सक्ने भएकाले निकै संवेदनशील ढङ्गबाट काम गर्नुपर्ने उहाँको भनाइ छ । डा साहले भन्नुभयो, “चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो ।”रासस