Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विश्वकप २०२६ आजबाट सुरु, उद्घाटन खेलमा मेक्सिको–दक्षिण अफ्रिका भिड्दै

विश्वकप २०२६ आजबाट सुरु, उद्घाटन खेलमा मेक्सिको–दक्षिण अफ्रिका भिड्दै

इच्छाकामना न्युज

२८, जेठ २०८३
विश्वकप २०२६ आजबाट सुरु, उद्घाटन खेलमा मेक्सिको–दक्षिण अफ्रिका भिड्दै

काठमाडौं।विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार यो खेल शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ ।

images

प्रतियोगितामा ४८ टोली, १०४ खेल र क्यानडा, मेक्सिको तथा संयुक्त राज्य अमेरिकाका १६ शहर आयोजकका रूपमा रहेका छन् । उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ । घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यमा छ । रोचक पक्ष के छ भने, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति जस्तै बनेको छ । दक्षिण अफ्रिकामा भएको त्यस विश्वकपको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले सिफिवे शाबालालाको गोलमार्फत अग्रता लिए पनि मेक्सिकोका कप्तान राफायल मार्केजले बराबरी गोल गर्दै खेल १–१ मा टुंगिएको थियो ।

यसपटक मार्केज खेलाडीका रूपमा होइन, मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगुइरेका सहायक प्रशिक्षकका रूपमा टोलीसँग छन् । मेक्सिकोका प्रशिक्षक अगुइरेले घरेलु मैदानमा विश्वकप खेल्नु आफ्ना खेलाडीका लागि विशेष प्रेरणाको स्रोत भएको बताएका छन् । उनले आफूले ५० वर्षको फुटबल यात्रामा विश्वकप घरेलु मैदानमा खेल्नुजत्तिको रोमाञ्चक अनुभव नपाएको उल्लेख गर्दै खेलाडीहरू पनि यो अवसरलाई विशेष रूपमा महसुस गरिरहेको बताए । टोली परिवारझैँ एकताबद्ध बनेको र त्यसले उत्कृष्ट प्रदर्शन गर्न सहयोग गर्ने उनको विश्वास छ ।

यता दक्षिण अफ्रिका अफ्रिकी छनोटको समूह ‘सी’ विजेता बनेर विश्वकपमा पुगेको हो । टोलीका प्रशिक्षक हुगो ब्रुस ले मेक्सिको समूहकै बलियो टोली भए पनि आफ्ना खेलाडीले अन्तिम मिनेटसम्म प्रत्येक बलका लागि संघर्ष गर्ने बताएका छन् ।

दक्षिण अफ्रिकाका मिडफिल्डर टेबोहो मोक्वेना ले उद्घाटन खेलप्रति टोली निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । विश्वकपमा खेल्नु प्रत्येक खेलाडीको सपना भएको भन्दै उनले स्वदेशका समर्थकका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । दक्षिण अफ्रिकाको खेलअघि सुखद खबर पनि पाएको छ । ह्यामस्ट्रिङ चोटबाट पीडित लेफ्ट–ब्याक अउब्रे मोडिबा पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ ।

मेक्सिकोको टोलीबाट रान्गेल, गालार्डो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, किनोनेस, अल्भाराडो र जिमेनेजले खेल्नेछन भने दक्षिण अफ्रिकाको टोलीबाट विलियम्स, मुदाउ, ओकोन, म्बोकाजी, मडिबा, मोक्वेना, सिथोले, माथोहो, मोरेना, फोस्टर र अपोलिसले खेल्ने तालिका तय भएको छ ।

भरिभराउ रंगशाला, विश्वभरका करोडौं दर्शक र नयाँ इतिहास लेखिने अपेक्षाबीच मेक्सिको सिटीमा आजबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको पर्दा उठ्दैछ । मेक्सिकोले घरेलु समर्थकसामु विजयी सुरुआत गर्ने प्रयास गर्नेछ भने दक्षिण अफ्रिकाले प्रतियोगिताको पहिलो खेलमै उल्टो नतिजा निकाल्ने लक्ष्य राखेको छ । न्यूज बैंक

 
 

images
प्रकाशित मिति :जेठ २८, २०८३ बिहिवार - १०:५६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology