Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल

पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल

रासस

३, आषाढ २०८३
पाठ्यक्रमलाई समयसापेक्ष बनाइन्छः मन्त्री पोखरेल
images

सुर्खेत (छिन्चु) 

images
images

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रमबजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताउनुभयो । उहाँले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
“विश्वविद्यालयबाट हासिल हुने शिक्षा केवल प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन, यसले रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणमा योगदान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पोखरेलले कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । प्रदेशमा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने उहाँको भनाइ छ ।

मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयलाई कर्णालीको शैक्षिक गौरवका रूपमा चित्रित गर्दै स्थापनायता अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । विश्वविद्यालयले उच्च शिक्षाको गुणस्तर सुधार तथा आधुनिक प्रविधिको प्रयोग विस्तारमा खेलेको भूमिकाप्रति उहाँले प्रशंसा गर्नुभयो ।

दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै मन्त्री पोखरेलले शिक्षा राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नूभयो । “आज प्राप्त गरेको ज्ञान र सीप व्यक्तिगत सफलताका लागि मात्र होइन, समाज र देशको विकासका लागि पनि उपयोगी हुनुपर्छ”, उहाँले बताउनुभयो ।

विकास र समृद्धिको यात्रामा नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले युवापुस्ताले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको माध्यमबाट गरिबी, बेरोजगारी, स्वास्थ्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि तथा जैविक विविधतासम्बन्धी समस्याको समाधान खोज्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयोे । उहाँले गुणस्तरीय शिक्षा र सृजनशील सोचका माध्यमबाट युवा पुस्ताले देशको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सक्ने बताउनुभएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ३, २०८३ बुधवार - १६:३७:२७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology