काठमाडौ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय योजना आयोगमा आज आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उहाँले राष्ट्र सेवकलाई अझ बढी जिम्मेवारी दिएर सरकारले देश निर्माणको महाअभियानमा जोड्न चाहेको बताउनभयो ।
विपुल जनादेश प्राप्त वर्तमान सरकारलाई नतिजा देखाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भन्नुभयो, “जेठ १६ गतेदेखि नयाँ ‘स्प्रिट’मा काम गरौँ भन्ने नै हो । साउन १ गतेदेखि त गर्नेपर्नेछ, अर्थमन्त्रालयले रुपान्तरणको एजेन्डालाई अघि बढाउनेछ ।”
पुँजीगत खर्चको लक्ष्य हासिल नहुने विगतको गलत नजिर आगामी दिन दोहोरिन नहुने बताउँदै उहाँले आगामी वर्ष विगतको नतिजा स्वीकार्य नहुने बताउनुभयो । “आजको दिनसम्म पुँजीगत खर्च ३१ प्रतिशतमात्रै हो ? ४०७ अर्बमा हामीले खर्च गरेको जम्मा ३१ प्रतिशत् । अब बत्तिएर यही असारे विकास गरेर ५० प्रतिशतसम्म पुग्यो भने सन्तोषको श्वास फेर्नुपर्ने अवस्था छ । अर्को साल यो हुन दिँदैनौँ, यसतर्फ पनि आयोगले ध्यान दिनुपर्छ ।”
सरकारको ‘स्प्रिट’, बजेट, नीति तथा कार्यक्रम र १०० बुँदे शासकीय सुधारका कार्यक्रमको जगलाई आधार बनाएर आगामी पाँच वर्षको स्पष्ट मार्गचित्र बनाएर अघि बढ्न निर्देशन दिनुभयो । “बजेट हिजो पास भएको छ । बजेट त आउँछ, तर कार्यान्वयन हुँदैन भन्ने भाष्य अब अन्त्य हुनुपर्छ । यति बलियो सरकारले पनि चिर्न सकेन भने कसले गर्ने, कहिले गर्ने । यसपटक त्यो चिर्नुपर्छ”, उहाँले भन्नुभयो ।