काठमाडौं। जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राखेका छन् ।
यसैबीच, नयाँ पुस्ताका खेलाडीहरूले पनि विश्व मञ्चमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् । स्पेनका १८ वर्षीय लमिन यामालले पहिलो सुरुआती खेलमै गोल गर्दै ४–० को जितमा निर्णायक भूमिका खेलेका छन् । जसले उनलाई भविष्यको सुपरस्टारका रूपमा स्थापित गरेको छ । नर्वेका इर्लीङ हल्याण्डले पनि लगातार गोल गर्दै आफ्नो टोलीलाई मजबुत बनाइरहेका छन् । जबकि इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट दौडमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
विश्लेषकहरूका अनुसार यो विश्वकप केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, पुस्ता परिवर्तनको स्पष्ट संकेत पनि हो । एकातर्फ मेस्सी र एमबाप्पेजस्ता अनुभवी खेलाडीहरू आफ्नो विरासत जोगाउने प्रयासमा छन भने अर्को तर्फ यामाल, हल्याण्ड र अन्य युवा प्रतिभाहरू भविष्यको फुटबल आफ्नो नियन्त्रणमा लिन तयार देखिन्छन् । यसरी, यो प्रतियोगिता इतिहास र भविष्यबीचको एक रोमाञ्चक संगम बनेको छ, जसले विश्व फुटबललाई नयाँ युगतर्फ डोर्याइरहेको छ । एएनआईको सहयोगमा