काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।
विद्यालयको कार्यकारी प्रमुखका रूपमा काम गर्दा शेर्पाले विभिन्न प्रपञ्चमार्फत लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको आरोपमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।