माडी । लक्ष्मीवासमा स्थानीयले सञ्चालनमा ल्याएको सामुदायिक होमस्टेले आर्थिक उपार्जनका साथै संस्कृति र कलाको संरक्षण र प्रचारप्रसार गरिरहेको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमुना थलोका रुपमा चिनाउन घरबासको सुरूआत गरिएको हो ।
केही वर्षअगाडि कामविशेषले जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँ कटानमा राना थारु होमस्टे चलाएको देखेका लक्ष्मीवासका जितबहादुर चापागाईंले गाउँलेका घरका खाली कोठामा विदेशी र स्वदेशी पाहुना ल्याएर समुदायकै आम्दानीको स्रोत बन्न सक्ने कल्पना गरे । उनको परिकल्पना आज वास्तविकता भइसकेको छ । उनकै नेतृत्वमा २०७६ सालदेखि लक्ष्मीवासमा रहेको माडी भ्यू मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा आएको हो ।
२०२६ सालमा पर्वतवाट चितवन आएका अध्यक्ष चापागाईं जो बागमती प्रदेश सामुदायिक होमस्टे महासंघका उपाध्यक्ष पनि हुन् । उनीसँगै समुदायको सक्रियताबाट यो होमस्टे प्रदेश र राष्ट्रियस्तरमा परिचित भएको छ । तथ्याङ्कअनुसार साउन महिनायता एउटा घरमा ६ सय जना पर्यटक आएको र हलमा ७ सयजति कार्यक्रम गरिएको अध्यक्ष चापागाईं बताउँछन् । अहिले पाहुना राख्न भ्याइनभ्याइ छ । बिदाको समयमा भीड बढी हुने भएकाले पाहुना राख्न भ्याइनभ्याइ हुने गरेका छन् । उनका अनुसार बिदाको दिनमा धेरै पाहुना आउँछन् । त्यतिखेर निकै भीड हुन्छ ।
त्यसैले, होमस्टेमा आउन चाहनेहरुले पहिले नै सम्पर्क गरेर आउनुपर्ने अवस्था छ, नत्र पाहुना राख्न समस्या हुन्छ । होमस्टे अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ र हरेक घरले मासिक ४० हजारको हाराहारीमा कमाइ गरिरहेका छन् । ५ घरबाट सुरू गरिएको होमस्टे अहिले ९ घरपरिवारको सहकार्यमा चलिरहेको छ । यो होमस्टेले पाहुनालाई बासमात्रै होइन, गाउँको आत्मा स्पर्श गराउने अनुभव प्रदान गर्छ ।
यसले माडीको पर्यटन र सामाजिक विकासमा महŒवपूर्ण भूमिका खेलिरहेको छ । होमस्टेमार्फत नै स्थानीयले आयआर्जन गर्न थालेका छन् । त्यतिमात्रै नभएर पछिल्लो समय संस्कार र संस्कृति जोगाउने माध्यम बनेको छ होमस्टे । घरबासमा आउने पाहुनालाई स्वागतसत्कारसँगै पञ्चेबाजा बजाइन्छ । लोकसंस्कृति र भजनले मनोरञ्जन प्रदान गरिन्छ । पुराना संस्कृतिहरु लोप हुने अवस्थामा रहेका कारण त्यसको जगेर्ना गर्न र पाहुनालाई मनोरञ्जन प्रदान गर्न लोकभजन गाउने गरिएको उनले बताए ।
क्षेत्री र बाहुन बाहुल्य गाउँमा सबै समुदायका मानिसहरुको बसोवास छ । लक्ष्मीवासमा जितबहादुर चापागाईं, षडानन्द अधिकारी, खडक प्रसाईं, प्रेमकुमारी रेग्मी, धनकुमारी बरूवाल, कौशिला रेग्मी, झलकमाया सापकोटा, सीता सापकोटा र पदम पौडेलले होमस्टे सञ्चालन गरेका छन् । एकपटकमा ४० जनासम्म अटाउने क्षमता भएको यस होमस्टेको सेवा शुल्क महँगो छैन ।
होमस्टेमा आउने पाहुनालाई घरकै अन्न, विषादीरहित तरकारी र स्थानीय स्वादले स्वागत गर्ने चलन बसिसकेको छ । यो केवल व्यवसाय होइन, संस्कृतिको जगेर्ना र आत्मीयताको आदानप्रदान हो । “शान्त ठाउँ छ, सहरको कोलाहलबाट केही समय भए पनि शान्त हुन यहाँ आउन सकिन्छ । यहाँको संस्कृति बुझ्न र खानपानका परिकारमा रमाउन यहाँ आउन आग्रह गर्छौं”, अध्यक्ष चापागाईंले भने, “पर्सा जिल्लाको हाल बन्द रहेको छोटी भन्सार खुलाइएमा भारतबाट पनि ठूलो संख्यामा पर्यटक सहजरुपमा माडी प्रवेश गर्न सक्छन् जसले यहाँको पर्यटन, व्यापार र उत्पादनमा उल्लेखनीय गति ल्याउने छ ।”
घरवासमा आउने पाहुनाका लागि घुमाउन पुष्प–मदन स्मृति वाटिका छ । सङ्ग्रहालय र वनभोज स्थल तयारी अवस्थामा छन् । वाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । माडीमा निजी र सामुदायिक दुवै प्रयासबाट पर्यटन प्रवद्र्धन हुँदै आएको छ । यो क्षेत्र संस्कृति, प्रकृति र सामाजिक समन्वयको जिउँदो उदाहरण बनेको छ । यदि पूर्वाधार, प्रचारप्रसार, सरकारी सहकार्य र सीमा सहजतामा ध्यान दिइयो भने माडीको पर्यटनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उदाहरणीय पहिचान बनाउने सम्भावना अत्यन्त प्रबल छ ।