Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक जारी, हालसम्म २५ जनाको ज्यान गयो

गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक जारी, हालसम्म २५ जनाको ज्यान गयो

images

इच्छाकामना न्युज

२१, आषाढ २०८३
गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक जारी, हालसम्म २५ जनाको ज्यान गयो
images

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो ।

हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथि आक्रमण गरेको थियो । हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जानकारी दिए ।
घटनाका क्रममा हात्ती धपाउन खोज्दा थप क्षति भएको छ । आशिका श्रीमान पूर्ण बोटेले हात्तीलाई भगाउने प्रयासमा आगो बाल्दा आफ्नै कच्ची घरमा आगलागी भएको थियो ।

घटनाको जानकारी पाउनासाथ नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ । जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरेर मानवीय क्षति पु¥याउन थालेपछि चितवन आसपासका स्थानीय बासिन्दा वर्षौंदेखि त्रासपूर्ण जीवन बिताइ रहेका छन् ।

विशेषगरी ‘ध्रुवे’ नामले परिचित जंगली हात्तीले वर्षेनी मानवीय क्षति पु¥याउँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ‘ध्रुवे’ हात्तीको आक्रमणबाट २०६६ सालदेखि हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । उनका अनुसार ‘ध्रुवे’ले आक्रमण गरेका अधिकांश घटनामा मानिस बाँच्न सकेका छैनन् ।

उक्त हात्तीले २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको हो । विशेषगरी ०६९ सालमा यसले धेरै मानवीय क्षति पु¥याएपछि हात्तीलाई नियन्त्रण गर्न र मार्ने आदेशसमेत जारी गरिएको थियो । त्यस क्रममा हात्तीमाथि गोली प्रहार गरे पनि ‘ध्रुवे’ बाँच्न सफल भएको सूचना अधिकारी थापा मगरले जानकारी दिए ।

गोली प्रहारपछि केही वर्षसम्म ‘ध्रुवे’बाट कुनै मानवीय क्षतिको घटना भएनन् । त्यसपछि पुनः आक्रमणका घटनाहरू दोहोरिन थालेका हुन् ।

‘ध्रुवे’को आक्रमणबाट २०७४ सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान गएको थियो । मानवीय क्षतिसँगै उक्त हात्तीले घर, बाली तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पु¥याउने गरेको सूचना अधिकारी थापा मगरले जानकारी दिए ।

जंगली हात्तीबाट हुने मानवीय तथा भौतिक क्षतिका विषय पटक–पटक संसदमा कुरा उठाइए पनि समस्या समाधानतर्फ सरकारको प्रभावकारी ध्यान भने जान सकेको छैन् ।

विशेषगरी ‘ध्रुवे’नामले परिचित जंगली हात्तीको आतंक वर्षौंदेखि हुदै आए पनि यसको नियन्त्रण भने हुन सकेको छैन् । सरकारले समयमै आवश्यक कदम चाल्न नसक्दा चितवनका विभिन्न स्थानीबासीहरु त्रासपूर्ण वातावरणमा बस्न बाध्य छन् ।

हात्तीको आवतजावत नियन्त्रण, जोखिमयुक्त क्षेत्रमा सुरक्षित बासस्थानको व्यवस्थापन गर्न आवश्यक छ । यस्तो समस्या वर्षौंदेखि दोहोरिँदै आए पनि सम्बन्धित निकायबाट पर्याप्त पहल हुन नसक्दा स्थानीयबासिन्दाले यसको प्रत्यक्ष मार खेप्नुपरेको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ २१, २०८३ आइतवार - १४:३६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology