काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहराले महाकाली सिँचाइ आयोजनाको काम अघि बढाउन भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
४८ किलोमिटर लामो आयोजनामध्ये करिब ३० किलोमिटर काम सम्पन्न भएको जानकारी दिँदै उनले पानी सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पहल गर्न आग्रह गरे । बोहराले आयोजनाको अन्तिम बिन्दु कृष्णपुर–९ मा स्थानीयको सहमति नलिई नहर निर्माण अघि बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘कृष्णपुर–९ मा यो नहरको अन्त्य हुन्छ । त्यहाँ नहर चाहिन्छ वा चाहिँदैन भन्ने विषयमा स्थानीयसँग सीमांकन गर्दा सोधिएन । जनतालाई त्यो नहर आवश्यक छ कि छैन भनेर बुझिएन ।’उनका अनुसार वर्षाका बेला उक्त क्षेत्र डुबानमा पर्ने गरेको छ भने स्थानीय तहले सो क्षेत्रलाई आवासीय क्षेत्र घोषणा गरेको छ । तर सरकारले त्यही क्षेत्रबाट नहर लैजान खोजेको भन्दै उनले स्थानीयको माग सम्बोधन गर्नुपर्ने बताए ।
‘स्थानीयले हामीलाई नहर चाहिँदैन भनिरहेका छन् । सरकारले किन नहर आवश्यक छ भनेर स्थानीयलाई बुझाउनुपर्छ,’ उनले भने । उनले सो क्षेत्रमा ऐलानी जग्गा र थोरै जमिन भएका नागरिक रहेकाले नहर निर्माणले उनीहरूको जग्गा प्रभावित हुने डर रहेको उल्लेख गर्दै आयोजना आवश्यकताको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए । रासस