Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आजदेखि लागू नयाँ आर्थिक व्यवस्था : बढ्यो तलब, फेरियो कर प्रणाली

आजदेखि लागू नयाँ आर्थिक व्यवस्था : बढ्यो तलब, फेरियो कर प्रणाली

इच्छाकामना न्युज

१, श्रावण २०८३
आजदेखि लागू नयाँ आर्थिक व्यवस्था : बढ्यो तलब, फेरियो कर प्रणाली

काठमाडौं : नयाँ आर्थिक वर्ष २०८३–८४ आज (शुक्रबार)देखि सुरु भएसँगै सरकारले ल्याएको नयाँ कर नीति र राष्ट्रसेवक कर्मचारीको संशोधित तलबमान कार्यान्वयनमा आएको छ ।

images

व्यक्तिगत आयकरको संरचनामा पनि परिवर्तन गरिएको छ । यसअघि वार्षिक ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने व्यवस्था रहेकामा अब उक्त सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ । अधिकतम व्यक्तिगत आयकर दर पनि ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार वार्षिक १० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत, १० लाखदेखि १५ लाख रुपैयाँसम्म १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ लाखदेखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आयमा २९ प्रतिशत कर लाग्नेछ । यसबाट विशेषगरी मध्यम तथा उच्च आय भएका करदाताले राहत पाउने सरकारको अपेक्षा छ ।

भन्सार प्रणालीमा पनि परिवर्तन गरिएको छ । यसअघि ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ । २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाइएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ । तर मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फुड, जुस तथा केही विलासी वस्तुमा अन्तःशुल्क बढाइएको छ ।

यसैगरी पूर्वाधार विकास कर, सडक मर्मत शुल्कलगायतका शीर्षकलाई समेटेर एकीकृत हरित कर (ग्रीन ट्याक्स) लागू गरिएको छ । कृषि क्षेत्रमा २ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

पुँजी बजार सुधारका लागि सरकारले इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ कारोबार चरणबद्ध रूपमा सञ्चालन गर्ने नीति लिएको छ । सूचीकृत कम्पनीको सेयर बिक्रीबाट हुने पुँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) मान्ने व्यवस्था पनि लागू भएको छ ।

आर्थिक ऐन, २०८३ अनुसार निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क, निजी स्वास्थ्य संस्थाका सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क तथा ५० युनिटभन्दा बढी घरायसी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

यस्तै, पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्ट, आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क, मिनी क्यासिनोको वार्षिक रोयल्टी ३ करोड रुपैयाँ, सुनचाँदीका गरगहनामा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क तथा राइड सेयरिङ सेवामा ५ प्रतिशत सेवा शुल्क लागू गरिएको छ ।

यसैबीच सरकारले राष्ट्रसेवक कर्मचारीको तलब पनि बढाएको छ । चार वर्षपछि गरिएको तलब समायोजनअनुसार सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको छ भने कार्यसम्पादनमा आधारित थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । महँगी भत्ता भने यथावत् राखिएको छ । सरकारले यसबाट कर्मचारीको कुल पारिश्रमिक करिब २१ प्रतिशतले वृद्धि हुने दाबी गरेको छ ।

नयाँ तलबमानअनुसार निजामती, जंगी तथा शिक्षक सेवाका कर्मचारीको ग्रेडसहित न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँ पुगेको छ भने उच्च तहका कर्मचारीको मासिक पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

सरकारका अनुसार नयाँ कर नीति, तलब वृद्धि र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट निजी क्षेत्रको लगानी विस्तार, कर्जा प्रवाह वृद्धि, उद्योग–व्यवसाय प्रवर्द्धन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :श्रावण १, २०८३ शुक्रवार - ०८:२३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology