काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायीको छाता सङ्गठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीले उहाँसँग गर्नुभएको छलफलका क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो । प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायीको मागअनुरूप व्यवस्था गर्नसमेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
त्यसैगरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाइ छ । अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकामा उक्त समस्या कानुनी रूपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो ।
छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टि–इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टि–फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुनुहुन्थ्यो । रासस