सिरहा । सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ । उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।
भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार, एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्षको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको र बाटोमै मृत्यु भएको मृतक बालकका आफन्तको दाबी छ ।