काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएपमार्फत बाहिरिएको खुलेको छ। ‘एमबीएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप ग्रुपमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्रको पीडीएफ र त्यसपछि उत्तरसमेत पठाइएको स्क्रिनसट सार्वजनिक भएपछि घटनाले गम्भीर रूप लिएको हो।
सार्वजनिक विवरणअनुसार परीक्षा सुरु भएको करिब पाँच मिनेटपछि ग्रुपमा प्रश्नपत्र पठाइएको थियो। त्यसलगत्तै विद्यार्थीहरूले उत्तर मागेका थिए भने ‘सुलभ सर’ले क्रमशः उत्तरसमेत पठाएका थिए। ग्रुपमा आगामी परीक्षाका ‘महत्त्वपूर्ण प्रश्न’ र प्रश्नपत्र उपलब्ध गराउने आश्वासनसमेत दिइएको देखिएको छ।
घटनापछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीन कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीको माग गरेको थियो। साथै, परीक्षा नियन्त्रण महाशाखाले प्रा।डा। अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
उता शिक्षा मन्त्रालय र नेपाल प्रहरीले पनि घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएका छन्। शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षकसँग छलफल गरी संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।
यसैक्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।