चितवन । नारायणगढ-मुग्लिन सडकअन्तर्गत मुग्लिनबाट करिब ५५० मिटर नारायणगढतर्फ रहेको खहरे खोला नजिक (चेनेज ३५+१५०) मा पहिरोका कारण साउन १२ गते एकै दिन तीन पटक सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयका अनुसार पहिरोका कारण सडक करिब ७ घण्टा अवरुद्ध भएको थियो। डिभिजन कार्यालयले पूर्वतयारीका रूपमा तैनाथ राखेका उपकरण तथा निर्माण व्यवसायीका उपकरण परिचालन गरी सडक खुलाएर सवारी आवागमन पुनः सञ्चालन गरिएको थियो।
साउन १३ गते सडक डिभिजन भरतपुरका इन्जिनियरको नेतृत्वमा खटिएको प्राविधिक टोलीले ड्रोन क्यामेराको सहायताले घटनास्थलको निरीक्षण गर्दा उक्त क्षेत्रमा थप पहिरो खस्ने जोखिम रहेको निष्कर्ष निकालेको छ।
यससँगै सडक डिभिजनले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सबै सवारी चालक तथा यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त स्थानमा सवारी साधन नरोक्न, गति नियन्त्रण गरेर मात्र यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
कार्यालयका अनुसार विगतमा उक्त स्थानमा पहिरोसम्बन्धी उल्लेखनीय गतिविधि नदेखिएको र चट्टानी भूभाग भएकाले त्यसलाई स्थिर (Stable) क्षेत्र मानिँदै आएको थियो। तर यसपटक ठूलो परिमाणमा पहिरो खसेपछि नयाँ जोखिमको अवस्था सिर्जना भएको जनाएको छ।
सडक विभागका जियोटेक्निकल विज्ञ (Geotechnical Expert Consultant) बाट विस्तृत निरीक्षण गरी प्राप्त हुने राय–सुझावका आधारमा आवश्यक थप सुरक्षा तथा स्थायी व्यवस्थापनका प्रक्रिया अघि बढाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।