भरतपुर। इनर ह्विल क्लब अफ भरतपुर सिटीले साउन १५ गते खीर खाने दिनको अवसरमा आदर्श गृह नेपालमा खिर खुवाउने तथा मायासाटासाट गर्ने कार्यक्रम सम्पन्न भएको छ। क्लबकी अध्यक्ष लक्ष्मी खड्का केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श गृह नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी मीना खरेल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा क्लबकी चार्टर प्रेसिडेन्ट शोभा गौतम खड्का तथा समाजसेवी एवं सर्प उद्धारकर्ता यामलाल भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै क्लबकी आईपीपी मीना गुरुङ, पूर्वअध्यक्षहरू सीता पोख्रेल श्रेष्ठ र सनुजा श्रेष्ठ, आदर्श गृहकी आमा भीमा जिसी,क्लबका पदाधिकारी, सदस्य तथा आदर्श गृहका बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा आदर्श गृहका बालबालिकासँग खिर खुवाई माया साटासाट गर्दै सामाजिक सेवाको भावनालाई अझ मजबुत बनाइएको आयोजकले जनाएको छ। सहभागीहरूले आदर्श गृह परिवारप्रति सम्मान व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए।
कार्यक्रम मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य होू भन्ने मूल भावनालाई आत्मसात गर्दै आयोजना गरिएको थियो। साथै क्लबकी चार्टर प्रेसिडेन्ट शोभा गौतम खड्काको जन्मदिनको अवसर पारेर उहाँको सौजन्यमा खिर खुवाउने कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै क्लबको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो।
साथै कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्याइएका मीना गुरुङ, सीता पोख्रेल श्रेष्ठ, सनुजा श्रेष्ठ,संयोजक तथा सम्पादक स्वेच्छा खनाल,कार्यक्रम सञ्चालिका ज्योति सुवेदी, क्लबका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको थियोे ।