अष्ट्रेलिया। अष्ट्रेलियामा रहेका तमु (गुरुङ) समुदायको साझा सामाजिक तथा सांस्कृतिक संस्था तमु समाज सिड्नीको अध्यक्षमा डा.समिता गुरुङ सर्वसम्मत रूपमा चयन भएकी छन्। संस्थाको साधारणसभाले डा.गुरुङको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै नेतृत्व हस्तान्तरण गरेको हो।
रिभानमा जन्मिएकी तथा स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–बेझाङमा विवाह भएकी डा.गुरुङ हाल पोखरा महानगरपालिका–८, सिमलचौरको स्थायी बासिन्दा हुन्। सन् २००९ देखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी उनी श्रीमान् र एक छोरीसँग करिब १७ वर्षदेखि स्थायी रूपमा सिड्नीमा बस्दै आएकी छन्।
डा.गुरुङ अष्ट्रेलियामा रहेका नेपाली तथा तमु समुदायका विभिन्न सामाजिक संस्थामा सक्रिय रहँदै आएकी छन्। विशेषगरी तमु समाज सिड्नी र एनआरएन अष्ट्रेलिया मार्फत सामाजिक तथा सामुदायिक गतिविधिमा उनको उल्लेखनीय सहभागिता रहँदै आएको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र गुरुङ र जीवन गुरुङ, महासचिवमा उषा गुरुङ, सचिवमा बरु गुरुङ तथा कोषाध्यक्षमा निराजन गुरुङ चयन भएका छन्। त्यसैगरी सह–कोषाध्यक्षमा रोशन घले, कल्याण संयोजकमा पुष्पा गुरुङ, महिला संयोजकमा ज्योति गुरुङ, सह–महिला संयोजकमा सुनिता गुरुङ, सांस्कृतिक सचिवमा गणेश गुरुङ, सह–सांस्कृतिक सचिवमा प्रीति गुरुङ, खेलकुद सचिवमा किरण गुरुङ, सह–खेलकुद सचिवमा अर्जुन घले तथा सूचना–प्रविधि (आईटी) सचिवमा बिक्रम गुरुङ चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा सुरज गुरुङ, लक्ष्मी गुरुङ, सञ्जित गुरुङ, लिल गुरुङ र इन्दिरा गुरुङ चयन भएका छन्। सन् १९९६ मा स्थापना भएको तमु समाज सिड्नी अष्ट्रेलियामा रहेका तमु (गुरुङ) समुदायको भाषा, कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सक्रिय संस्थाका रूपमा परिचित छ।
संस्थाले प्रत्येक वर्ष तमु ल्होसार भव्य रूपमा आयोजना गर्नुका साथै सामाजिक, सांस्कृतिक, खेलकुद, परोपकारी तथा समुदायलाई एकताबद्ध गर्ने विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसका साथै अष्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई तमु भाषा, संस्कृति र मौलिक पहिचानसँग जोड्ने उद्देश्यले विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।
नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षको कार्यकालमा संस्थागत सुशासनलाई थप सुदृढ बनाउँदै तमु समुदायको साझा हित, भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै समुदायबीच आपसी एकता, सहकार्य तथा भावी पुस्तामा सांस्कृतिक हस्तान्तरणलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने विश्वास पनि व्यक्त गरेको छ।